धनगढीका मेयर हमाललाई राजीनामा गर्न दबाब दिँदैछ कांग्रेस–माओवादी गठबन्धन ?

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका नगर प्रमुख (मेयर) गोपाल हमाललाई जग्गा प्लटिङ सम्बन्धी कार्यविधिको विषयमा घेर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरूले भरमग्दुर प्रयास गरे । कार्यालयबाहिर होटलमा बैठक बसेर कार्यविधि खारेज गर्न प्रस्ताव नै दर्ता गराए ।

कार्यपालिकाबाट पारित नै नभई कार्यविधि राजपत्रमा प्रकाशित भएको भन्ने आरोप लगाउँदै मेयर हमाललाई नैतिक दबाबमा पार्न खोजियो । तर कार्यविधि सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले मेयर हमाललाई घेर्ने मौका गुम्यो । जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश समेत नदिएकाले मेयर हमाललाई हाइसञ्चो भएको छ ।

कार्यविधिको विवाद सतहमा नदेखिए पनि त्यतिबेलादेखि भएको मनमुटाव आजका मितिसम्म आउँदा देखिने गरेको छ । शनिबार धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले अनिवार्य अवकाश पाएका छन् । सोही अवसरमा शनिबार श्रेष्ठको बिदाइ कार्यक्रम राखिएको थिए तर कार्यक्रममा कांग्रेस–माओवादी गठबन्धनका कार्यपालिका सदस्यहरू उपस्थित भएनन् ।

कार्यपालिकाको कार्यालयले सबै नगरसभा सदस्यलाई मोबाइलमा म्यासेज गरेर बिदाइ कार्यक्रममा सहभागी हुन निम्ता गरेको थियो । तर बिदाइ कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित नगर उपप्रमुख (उपमेयर) र वडाध्यक्षहरू सहभागी हुँदा कांग्रेस र माओवादीका वडाध्यक्षहरू सहभागी भएनन् ।

जग्गा प्लटिङ विवादपछि कांग्रेस–माओवादी गठबन्धनले मेयर हमाल सहभागी हुने औपचारिक कार्यक्रमलाई अघोषित रूपमा बहिष्कार गर्दै आएको स्रोतले जनाएको छ । यसअघि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोह, फुलबारीमा आसरा केन्द्र उद्घाटन समारोह, वडा नम्बर १६ को क्यान्सर स्क्यानिन शिविर, फुलबारीको ओलकापुरी भोकेसनल स्कूलको पहिलो ब्याजका विद्यार्थीको सम्मान तथा बिदाइ कार्यक्रम लगायतमा गठबन्धनका वडाध्यक्षहरूको उत्साहजनक सहभागिता नभएको जनाइएको छ । जग्गा विवाद हुनुअघि नगरस्तरीय कार्यक्रममा अधिकांश वडाध्यक्षहरूको सहभागिता हुने गरेको थियो ।

कांग्रेस र माओवादीका वडाध्यक्षहरूले कार्यक्रम बहिष्कार गरेर मेयरलाई राजीनामा गर्न दबाब दिइरहेको स्रोतको दाबी छ । ‘जग्गा प्लटिङ विवाद हुँदा पनि राजीनामाको कुरा उठेको थियो, त्यसमा सफल हुन नसकेपछि अहिले अधिकांश कार्यक्रममा असहयोग भइरहेको छ,’ स्रोतले भन्यो, ‘त्यतिबेलाको विवाद अदालतमा विचाराधीन रहेकाले त्यसलाई बिर्सिएर पूर्ववत् सम्बन्ध स्थापित भएर धनगढीको विकासमा सक्रिय हुनुपर्नेमा दलीय स्वार्थको कपट देखिन्छ ।’

कार्यविधि सम्बन्धी विवाद भएयता धनगढीमा कार्यपालिका बैठक समेत बसेको छैन । मेयर हमालसँग वडाध्यक्षहरूको मनमुटाव कायमै रहेमा उपमहानगरका काम–कारवाही प्रभावित हुन सक्छन् ।

सार्वजनिक कार्यक्रममा वडाध्यक्षहरूको अनुपस्थितिबारे प्रतिक्रिया लिन वडाध्यक्ष बुद्धि खड्का र मानबहादुर विष्टलाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।

यो पनि पढ्नुहोस् –

यसरी त मैले मेयरमा बस्नुको औचित्य हुँदैन, फर्किनुपर्छ : गोपाल हमाल (भिडियो)

सर्वाेच्च अदालतबाट धनगढी उपमहानगरलाई राहत ! जग्गा व्यवसायीले पाएनन् अन्तरिम आदेश

धनगढीको जग्गा प्लटिङ कार्यविधि विवादको चिरफार ! अनुत्तरित प्रश्न– विमति कुन बुँदामा हो ? (टिप्पणी)

धनगढीको प्लटिङ विवादमा ‘ट्वीस्ट’ : सर्वाेच्चमा रिट दायर हुँदा मेयर हमाललाई हाइसञ्चो !

धनगढीका बहुमत वडाध्यक्षहरू झुक्किए ? कार्यविधि बनाउँदा ‘विधायन समिति’ अनिवार्य छैन

धनगढीमा सडकको चौडाइ १० मिटर किन गरियो ? मेयर हमालको प्रष्टीकरण (कार्यविधिसहित)

सम्बन्धित
Loading...