धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गण जलमग्न भएर हिँडडुल गर्न समस्या भएपछि धनगढी उपमहानगरले ग्राभेल गरेर विद्यालयभित्रै बाटो निर्माण गरेको छ ।
धनगढी उपमहानगरका नगर प्रमुख (मेयर) गोपाल हमालले बाटो निर्माण गरिएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
त्रिभुवन मावि प्राङ्गणमा वर्षाको पानीले जलमग्न भएर विद्यार्थीलाई कक्षा कोठामा जान समेत समस्या भएकाले धनगढी उपमहानगरद्वारा सहज आवतजावत गर्न ग्राभेल गरी बाटो निर्माण गरिएको मेयर हमालले जानकारी दिए ।
उपमहानगरले पालिकासँग रहेका स्रोतसाधनको उपयोग गर्दै आकस्मिक रूपमा समेत ग्राभेल र बाटो मर्मतसम्भार गर्दै आएको छ ।