धनगढीमा सडकको चौडाइ १० मिटर किन गरियो ? मेयर हमालको प्रष्टीकरण (कार्यविधिसहित)

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८० लागू गर्दै सडकको चौडाइ १० मिटर हुनुपर्ने मापदण्ड बनाएपछि जनस्तरमा चासो बढेका बेला नगर प्रमुख (मेयर) गोपाल हमालले प्रस्टीकरण दिएका छन् ।

सडक १० मिटर हुनुपर्ने नयाँ मापदण्ड पुराना सबै सडकमा लागू हुने हो कि भन्ने बुझाइ देखिएपछि मेयर हमालले नयाँ र व्यावसायिक प्रयोजनका सडकमा कित्ताकाट गर्दा मात्रै १० मिटरको मापदण्ड लागू हुने स्पष्ट पारेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै मेयर हमालले पुराना सडक, सामान्य जग्गा किनबेच र अंशबण्डाको कित्ताकाटमा नयाँ मापदण्ड लागू नहुने जानकारी दिए । उनले भने, ‘व्यक्ति वा फर्मले व्यावसायिक प्रयोजनका लागि सडकको कित्ताकाट गर्नुपरेमा । यो जग्गाको प्लटिङ गरेर सडकको कित्ताकाट (नयाँ बाटो निकाल्ने) गर्नका लागि हो ।’

दीर्घकालीन सोचले सडक चौडा राख्ने निर्णय गरिएको उनले बताए । ‘यो मापदण्ड पुरानो बस्तीमा लागू हुँदैन । अंशबण्डामा पनि लागू हुँदैन,’ उनले भने, ‘व्यावसायिक रूपमा जग्गा प्लटिङ गरेर नयाँ बस्ती बसाउन नयाँ सडक बनाउने ठाउँमा १० मिटरको मापदण्ड लागू हुन्छ । हामी मान्छेलाई असुविधा हुने काम गर्दैनौं ।’

नयाँ सडक बनाउँदा सबै मापदण्ड पुर्‍याउनुपर्ने भएकाले १० मिटर राखिएको उनले बताए । ‘नयाँ बाटो फराकिलो बनाउने, पैदल हिँड्ने पेटी राख्ने, वृक्षरोपण गर्ने हो,’ उनले भने, ‘नयाँ बस्ती व्यवस्थित गर्नका लागि मात्रै मापदण्ड बनाइएको हो ।’

पुराना सडकहरू चौडा गर्दा अदालतमा मुद्दा खेप्नुपरेको स्मरण गर्दै उनले भविष्यमा बन्ने सडकमा पनि मुद्दा खेप्नु नपरोस् भनेर अहिल्यै मापदण्ड बनाइएको बताए । सडक चौडा नभएका कारण आगलागीका बेला दमकल समयमै आगलागी भएको ठाउँमा पुग्न समस्या हुने उनले बताए ।

पढ्नुहोस् कार्यविधि

सम्बन्धित
Loading...