धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको तयारी गर्न अनुदान दिने भएको छ ।
उपमहानगरपालिकाले मंगलवार गणित र विज्ञान विषयको कक्षा चलाउन विद्यालयहरूलाई अनुदान दिने निर्णय गरेको छ ।
साउन २३ गतेदेखि ग्रेडवृद्धि परीक्षा हुने भएकाले साउन २२ गतेसम्म कक्षा चलाउन धनगढीका २६ सामुदायिक विद्यालयलाई अनुदान दिने निर्णय भएको प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रबहादुर खातीले बताए । उनले गणित र विज्ञान विषयमा ननग्रेड आएका विद्यार्थीहरूका लागि कक्षा चलाउन विद्यालयहरूलाई विद्यार्थी संख्या र पिरियडको आधारमा अनुदान उपलब्ध गराउने बताए ।
ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीलाई परीक्षामा ग्रेड बढाउन सहज होस् भनेर हरेक विद्यालयले शिक्षकलाई प्रोत्साहन स्वरूप भत्ता दिन मिल्ने हिसाबले अनुदान निकासा गरिने खातीले बताए ।
गणित र विज्ञान विषय पढ्न चाहने विद्यार्थीको संख्या शिक्षा महाशाखामा पठाउन विद्यालयलाई सजिलो होस् भनेर उपमहानगरपालिकाले क्यूआर कोड समेत सार्वजनिक गरेको छ ।
धनगढी उपमहानगरले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रयास गर्दै आएको छ ।