धनगढी उपमहानगरमा नयाँ अभ्यास : शारदा मावि बैशाख महिनाको उत्कृष्ट विद्यालय घोषणा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बैशाख महिनाको उत्कृष्ट सामुदायिक विद्यालय घोषणा गरेको छ ।

शुक्रबार उपमहानगरपालिकाको सभाहलमा सम्पन्न मासिक प्रधानाध्यापक बैठक र सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरण एवं उत्कृष्ट विद्यालय घोषणा कार्यक्रममा कूल ६८ सामुदायिक विद्यालयमध्ये ३० वटा विद्यालयले गरेको प्रस्तुतीकरणको मूल्यांकन गरिएको थियो ।

विद्यालयको प्रस्तुतीकरणका आधारमा वडा नम्बर २ स्थित शारदा माध्यमिक विद्यालय बैयाबेहडीलाई उत्कृष्ट विद्यालय घोषणा गरिएको छ । विद्यालयलाई नगर प्रमुख (मेयर) गोपाल हमालले नगद १५ हजार र सम्मानपत्र प्रदान गरेका थिए ।

धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने उद्देश्यले २०८० चैत्र ८ गते सबै सामुदायिक विद्यालयसँग कार्यसम्पादन सम्झौता गरेको थियो । सम्झौता बमोजिम विभिन्न ७२ वटा सूचकहरूको कार्यान्वयनको सन्दर्भमा भए गरेका मासिक कार्यहरूको सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको प्रस्तुतीकरणका आधारमा उत्कृष्ट विद्यालय घोषणा गरिएको छ ।

कार्यक्रमको अवसरमा बोल्दै शारदा मावि बैयाबेहडीका प्रधानाध्यापक तेजबहादुर सिंहले उत्कृष्ट विद्यालय घोषणा कार्यक्रमले सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि सकारात्मक प्रतिस्पर्धा गर्न, विद्यालयका असल अभ्यासहरू आदानप्रदान गर्न र विद्यालयलाई थप हौसला प्रदान गर्न मद्दत गर्ने बताए । धनगढीले पछिल्लो समयमा शिक्षामा एकपछि अर्को उत्कृष्ट कार्यहरू गर्दै आएको र ती कार्यहरूले समेत अझ प्रेरित भएर लाग्न मद्दत पुगेको पञ्चोदय मावि हसनपुरका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए ।

कार्यक्रममा मेयर हमालले विद्यालयको शैक्षिक सुधार शिक्षकबाटै सम्भव भएको र त्यो धनगढीका शिक्षकले प्रमाणित समेत गरेको बताए ।

सम्बन्धित
Loading...