धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८० मा लिएको आधारभूत तह ८ कक्षाको वार्षिक परीक्षामा नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान गरेको छ ।
शैक्षिक सत्र २०७९ मा शून्य नतिजा ल्याएका तर शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने विद्यालयहरूलाई आईतबार सम्मान गरिएको हो ।
नगर उपप्रमुख (उपमेयर) कन्दकला कुमारी रानाले नतिजा सुधार गर्ने विद्यालय रहेका वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूलाई सम्मान गरेकी हुन् ।
उपमेयर रानाले फूलमाला, सम्मान पत्र र नगदसहित सम्मान गरेकी छन् । विद्यालयको नतिजा सुधार ल्याउन मेहनत गरेको भन्दै वडाध्यक्ष, व्यवस्थापन समिति र प्रधानाध्यापकहरूको हौसला बढाउन सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए ।
गत वर्ष १७ विद्यालयको ८ कक्षाको परीक्षामा शून्य नतिजा आएकोमा यो वर्ष ३ विद्यालय समायोजन हुँदा बाँकी रहेका १४ विद्यालयबाट ८ कक्षाको परीक्षामा विद्यार्थी सहभागी भएका हुन् । शून्यबाट नतिजा सुधार गर्दा सबैभन्दा बढी विद्यार्थी पास गराउने ३ वटा विद्यालयलाई नगद, प्रमाण पत्र र ट्रफीसहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले बताए ।
शून्यबाट यस वर्ष सर्वाधिक ५१ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी–१२ दुर्गाबस्तीको दुर्गा आधारभूत विद्यालयलाई नगद १५ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ भने दोस्रो र तेस्रो बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी–१० को जनकल्याण माध्यमिक विद्यालय र धनगढी–१३ को नवज्योति आधारभूत विद्यालयलाई क्रमशः १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।
गत वर्ष शून्य नतिजा ल्याएका तर यस वर्ष नतिजामा सुधार ल्याएको धनगढी–१ को सरस्वती आधारभूत विद्यालय, धनगढी–७ को शिव माध्यमिक विद्यालय, धनगढी–१३ को जनता राष्ट्रिय आधारभूत विद्यालय, धनगढी–१४ को शिवशंकर आधारभूत र सिद्धार्थ आधारभूत विद्यालयलाई पनि सम्मान गरिएको छ । धनगढी–१६ को दिपेन्द्रचारपाते माध्यमिक विद्यालय, वडा नम्बर १७ को भानु माध्यमिक विद्यालय र सज्जन आधारभूत विद्यालय, वडा नम्बर १८ को इन्द्रोदय र खप्तडी आधारभूत विद्यालय तथा वडा नम्बर –१९ को फूलबारी आधारभूत विद्यालयलाई सम्मान गरिएको छ ।
नतिजा सुधार गर्न जनप्रतिनिधि, व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरूले गरेको मेहनतको कदर गर्दै सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।