छात्रवृत्तिमा पढेर सरकारी तलब खाने यी डाक्टरको निजी अस्पताल नवजीवनसँग अवैध साठगाँठ

धनगढी । छात्रवृत्तिमा पढेबापत कैलालीको सेती प्रादेशिक अस्पतालमा ‘छात्रवृत्ति करार’ सेवामा नियुक्त भई तलब खाइरहेका २ जना विशेषज्ञ डाक्टरको धनगढीकै निजी अस्पताल नवजीवन अस्पतालसँग अवैध साठगाँठ रहेको खुलासा भएको छ ।

छात्रवृत्तिमा अध्ययन पूरा गरी सरकारी अस्पतालमा सेवा गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट सेती प्रादेशिक अस्पताल धनगढीमा खटाइएका विशेषज्ञ चिकित्सकद्वय कन्सल्टेन्ट युरोलोजिस्ट डा. दुर्गा पण्डित र कन्सल्टेन्ट न्युरो सर्जन डा. सन्देश दाहालले अवैध रूपमा निजी अस्पतालसँग साठगाँठ गरेका हुन् । दुवै चिकित्सकले त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालबाट छात्रवृत्तिमा विशेषज्ञता हासिल गरेका हुन् ।

नेपाल सरकारले बनाएको ‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२’ अनुसार छात्रवृत्ति करार सेवा अवधिभर निजी अस्पताल र स्वास्थ्य संस्थामा काम गर्न पाइँदैन ।

कार्यविधिको दफा १६(१) कार्यस्थलमा खटिएका विशेषज्ञ चिकित्सकहरूको काम, कर्तव्य र अधिकार सम्बन्धी प्रावधानको (ज) मा लेखिएको छ, ‘सेवा अवधिभर विशेषज्ञ चिकित्सकले निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने ।’

विशेषज्ञ चिकित्सकले सेवा अवधिभर निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने स्पष्ट व्यवस्था रहे पनि दुवै चिकित्सकले त्यसको उल्लंघन गर्दै नवजीवन अस्पतालमा सेवा दिएको पाइएको छ ।

छात्रवृत्ति करारबाहेक अन्य सरकारी सेवामा रहेका चिकित्सकले निजी अस्पतालमा काम गर्दा पूर्व स्वीकृति लिनुपर्छ । तर छात्रवृत्ति करारका चिकित्सकलाई भने पूर्व स्वीकृति लिने प्रावधान पनि देखिँदैन । छात्रवृत्ति करारका चिकित्सकलाई निजी रूपमा सेवा गर्न बर्जित नै गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव रहेको भन्ने गरिन्छ । तर खटाइएका चिकित्सकले निजी अस्पतालसँग अवैध साठगाँठ गरेर निजीतिर सेवा दिने गरेका छन् । अवैध रूपमा निजी अस्पतालतिर धाउने समयमा ती चिकित्सकलाई सेती अस्पतालमै अतिरिक्त समय खटाएर बिरामीलाई सुलभ सेवा दिने सकिने अवस्था छ । तर निजी अस्पतालसितको अवैध साठगाँठ निर्वाध रूपमा चलिरहेको छ भने सेतीमा चिकित्सक अभाव देखाएर सेवासुविधामा ढिलासुस्ती हुने गरेको छ ।

सेतीमा खटिएका विशेषज्ञ चिकित्सकलाई देखाएर नवजीवन अस्पतालले पूर्णकालीन सेवा भनी प्रचार गरेको देखिन्छ ।

विशेषज्ञ चिकित्सक डा. दुर्गा पण्डितले निजी अस्पताल नवजीवनमा सेवा दिने गरेको स्वीकारे । राम्रोन्युजसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘नवजीवन पनि काम गर्छु । सबै डिटेलमा भेटेरै कुरा गरौं । सेतीको छुट्टै टाइम हुन्छ । फोनमा कुरा गर्न मिल्दैन ।’

अर्का विशेषज्ञ चिकित्सक डा. सन्देश दाहालले अवैध साठगाँठबारे कुरा गर्न चाहेनन् । टेलिफोन उठाएपछि निजी अस्पतालमा काम गरेकोबारे सोध्दा उनले भने, ‘म अहिले बिरामी हेरिरहेको छु, पछि कुरा गर्छु ।’ तर उनी पछि सम्पर्कमा आएनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सकले निजीमा काम गर्न नपाइने बताए । ‘छात्रवृत्ति करारको सेवा अवधिभर निजीमा काम गर्न पाइँदैन,’ उनले भने ।

यो पनि –

सेतीमा खटिएका डाक्टरको नाम बेचेर नवजीवन अस्पतालको तडकभडक !

निसर्ग हस्पिटलका डाक्टरको ‘नक्कली उपाधि’ : पैसा कमाउन बिरामीसँग यस्तो जालझेल !

कञ्चनपुरमा अवैध अस्पतालको बिगबिगी, दर्ता विनै निर्वाध सञ्चालन

सम्बन्धित
Loading...