निसर्ग हस्पिटलका डाक्टरको ‘नक्कली उपाधि’ : पैसा कमाउन बिरामीसँग यस्तो जालझेल !

धनगढी । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले डाक्टरको ‘नक्कली उपाधि’ प्रचार गरेर बिरामीको उपचार गराउने गरेको फेला परेको छ ।

निसर्ग हस्पिटलमा कार्यरत डा. प्रज्ञान ख्वाउँजूले बिरामी पर्चामा ‘सर्जन, युरोलोजिस्ट’ लेखिएको छाप लगाउने गरेका छन् । तर नेपाल मेडिकल काउन्सिलको रेकर्डअनुसार उनको उपाधि ‘एमबीबीएस, एमएस सर्जरी’ हो ।

डा. प्रज्ञानको नाम र मेडिकल काउन्सिलमा दर्ता नम्बरका आधारमा वेबसाइटबाट विवरण हेर्दा डिग्रीमा एमबीबीएस, एमएस तथा विशेषज्ञतामा सर्जरी लेखिएको छ ।

हेर्नुहोस् वेबसाइटको विवरण –

मेडिकल काउन्सिलको विवरणमा उनले युरोलोजीको उपाधि हासिल गरेको देखिँदैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा युरोलोजी अध्ययन गर्न ३ वर्ष पढाइ गर्नुपर्छ । सर्जरी (शल्य चिकित्सा) पढाइ पूरा गरेपछि थप ३ वर्ष पढेर ‘युरोसर्जरी’ उपाधि हासिल हुन्छ । तर डा. प्रज्ञानले पढाइ नै नगरी ‘युरोलोजिस्ट’ उपाधि लेखेर बिरामीसँग जालझेल गरिरहेका छन् ।

हेर्नुहोस् निसर्ग हस्पिटलको बिरामी पर्चामा हानिएको छाप –

बिरामीको गोपनीयताका लागि बिरामीको अन्य विवरण प्रकाशित गरिएको छैन । निसर्ग हस्पिटलले डा. प्रज्ञानलाई एमबीबीएस, एमएस (युरोसर्जरी) भनेर प्रचार गरेको समेत फेला परेको छ । हस्पिटलको फेसबूक पेजमा राखिएको पोस्टरमा उनको उपाधिमा मिर्गाैला तथा मूत्ररोग शल्य चिकित्सक लेखिएको छ ।

हेर्नुहोस् पोस्टर –

डा. प्रज्ञानले युरो–अन्कोलोजीको फेलोशिप प्राप्त गरेका छन् । उनले फेलोशिपबाट लिएको छोटो अवधिको तालिम हो । उनले लेख्ने गरेको ‘युरोलोजिस्ट’ डिग्रीको नेपालमा ३ वर्षे पढाइ गर्दा मेडिकल र सर्जिकल क्षेत्रको ज्ञान आर्जन हुन्छ तर उनले पाएको फेलोशिप क्यान्सरको शल्यक्रियासँग मात्रै सम्बन्धित रहेको जानकारहरू बताउँछन् । कुनै एउटा सीमित क्षेत्रको छोटो अवधिको तालिम लिएर उनले डिग्री नै पूरा गरेजसरी प्रचार गरेका छन् ।

के छ कानूनी प्रावधान ?

चिकित्सकको दर्ता र नियमनको काम नेपाल मेडिकल काउन्सिलले गर्छ । नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ (संशोधनसहित) को परिच्छेद २ मा चिकित्सकहरूको नाम रजिष्टरमा दर्ता गर्ने सम्बन्धी व्यवस्था छ । नियम ३.(३)(क) मा जुन डिग्री डिप्लोमाको आधारमा दर्ता गराउन चाहेको हो, त्यसको सक्कलै प्रमाणपत्र दाखिला गर्नुपर्ने व्यवस्था छ । डा. प्रज्ञानको प्रमाणपत्र हेरेर काउन्सिलले विशेषज्ञ दर्ता किताबमा उनको डिग्री ‘सर्जरी’बाट भएको खुलाएको छ । उनले युरोलोजिस्टको उपाधि हासिल गरेर मान्यता पाएको भए काउन्सिलको विशेषज्ञ दर्ता किताबमा उनको विशेषज्ञतामा युरोलोजिस्ट पनि थपिएको हुन्थ्यो ।

नियमावलीको नियम २२. चिकित्सकको आचारसंहिताको (२)(ख) मा पाएको डिग्री, डिप्लोमा र पदबाहेक अर कुनै कुरा नलेख्ने उल्लेख छ । नियम २२ को उपनियम २(ख) मा लेखिएको छ, ‘आफ्नो नाम चलाउने अथवा धन कमाउने उद्देश्यले कुनै परिचय पाटी वा प्याडमा आफ्नो नाम, पाएको डिग्री डिप्लोमा र कुनै पद पाएको छ भने त्योबाहेक अरु कुनै कुरा नलेख्ने ।’

नेपाल मेडिकल काउन्सिलको मिति २०७९ साउन ९ गतेको बैठकको निर्णयमा पनि भनिएको छ, ‘दर्तावाल चिकित्सकले आफूले नेपाल मेडिकल काउन्सिलमा दर्ता रहेका बाहेकका उपाधि प्रयोग गर्न गराउन हुँदैन, सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नुपर्ने भए काउन्सिल दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्र लेख्न पाइनेछ ।’

काउन्सिलको २०७९ कात्तिक २२ गतेको बैठकको निर्णयमा ‘१) काउन्सिलबाट प्रदान नगरिएको उपाधि प्रयोग गरेमा, २) भ्रामक प्रचारप्रसार तथा प्रसारण गरेमा’ खराब आचरण गरेको मानिने उल्लेख छ ।

काउन्सिलले अध्ययन गरेको विश्वविद्यालय, अध्ययन गरेको कार्यक्रम र प्रमाणपत्र हेरेर उपाधि यकिन गरी दर्ता प्रमाणपत्रमा उल्लेख गर्ने गरेको छ ।

योग्यता र विशेषज्ञता लेख्ने सम्बन्धमा नेपाल मेडिकल काउन्सिल आचारसंहिता तथा व्यावसायिक आचरण २०१७ मा थप व्यवस्था गरिएको छ ।

पढ्नुहोस् आचारसंहिताको व्यवस्था –

डा. प्रज्ञानले आफूले टाटा मेडिकल सेन्टर कलकत्ताबाट फेलोशिप गरेकाले ‘युरोलोजिस्ट’ लेखेको स्वीकारे । तर उनको फेलोशिपलाई मेडिकल काउन्सिलको उपाधिको मान्यता दिएको छैन । फेलोशिप गर्दा उपाधि लेख्न पाइँदैन नि भन्ने प्रश्नमा उनले भने, ‘अरुहरू फेलोशिप डिग्री लिएर प्रोफेसर भइराख्नुभएको छ, अरुलाई प्रश्न छैन । बराबर हुनुपर्‍यो नि सबैलाई ।’

निसर्ग हस्पिटलका सञ्चालक तीर्थराज पन्तले डा. प्रज्ञानले युरोलोजी पढेको प्रमाणपत्र अस्पतालमा रहेको दाबी गरे । नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले चिकित्सकले काउन्सिलमा दर्ता भएकोबाहेक उपाधि लेख्न र प्रचार गर्न नपाइने जानकारी दिए ।

सेतीमा खटिएका डाक्टरको नाम बेचेर नवजीवन अस्पतालको तडकभडक !

सम्बन्धित
Loading...