स्वास्थ्य उपकरण खरिदमा ‘सेटिङ’को गन्ध ! ६ करोड बराबरको टेन्डर मापदण्डमा यस्तो चलखेल

धनगढी । सामान्यतया खुद्रा पसलबाट सामान किन्दा पनि १ किलोग्रामलाई ५० रुपैयाँ पर्ने वस्तु ३ किलोग्राम किन्दा १५० पर्छ । खरिद प्रक्रियामा मूल्यसँगै मात्रा पनि बढ्छ । अर्काेतिर थोरै वस्तु भयो भने थोरै व्यक्तिले लाभ लिन पाउँछन् भने धेरै मूल्य तिरेर धेरै वस्तु खरिद गरियो भने त्यसलाई धेरै व्यक्तिले उपयोग गर्न पाउँछन् ।

ठूल्ठूला उपकरण र मशिन खरिद गर्दा पनि मूल्य, मात्रा र उपयोगिता हेरिन्छ । मोटरसाइकल खरिद गर्दा पनि २ लाखमा १२५ सीसीसम्मको मोटरसाइकल खरिद गर्न सकिन्छ भने मूल्यसँगै मोटरसाइकलको सीसी पनि बढ्छ । मूल्यकै अनुपातमा मोटरसाइकल चल्ने गति पनि बढ्छ ।

सार्वजनिक संस्था वा सरकारी निकायमा प्रतिस्पर्धामार्फत वस्तु खरिद गर्दा पनि धेरै आपूर्तिकर्ताबीच प्रतिस्पर्धा गराई गुणस्तरीय वस्तु कमभन्दा कम मूल्यमा खरिद गरी सरकारी बजेट जोगाउन खोजिन्छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले भदौ १९ गते स्वास्थ्य प्रयोगशाला उपकरण खरिदका लागि झण्डै ६ करोडको टेन्डर आह्वान गरेको छ । टेन्डरको ‘ प्रयोगशाला उपकरणको खरिद आपूर्ति र वितरण (प्याकेज–१)’मा अनौठो प्राविधिक मापदण्ड राखिएको छ ।

प्याकेज–१ अन्तर्गत केन्द्रले ११ किसिमका ९७ थान उपकरण खरिद गर्दैछ । प्याकेजको क्र.स. १ र २ मा क्रमशः थ्री पार्ट हेमाटोलोजी एनालाइजर (१० थान) र फाइभ पार्ट हेमाटोलोजी एनालाइजर (५ थान) राखिएको छ । थ्री पार्ट मशिन पुरानो प्रविधि अन्तर्गत बनेको हो भने फाइभ पार्न आधुनिक प्रविधिको मशिन हो ।

केन्द्रले एकै प्याकेजमा ९७ थान उपकरण खरिद गर्दा ‘बिड सेक्युरिटी’ रकम १५ लाख राखेको छ । यसरी हेर्दा सबै उपकरणको अधिकतम मूल्य लगभग ६ करोड हुन जान्छ । प्याकेजमा मशिनअनुसार छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छैन ।

बजार मूल्य हेर्दा थ्री पार्ट मशिन ४ लाखसम्म र फाइभ पार्ट मशिन १२–२० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको आपूर्तिकर्ताहरू बताउँछन् । मूल्य हेर्दा नै महंगो भए पनि फाइभ पार्ट मशिनको आधुनिकता, उपयोगिता र कार्यक्षमता बढी हुने अनुमान गर्न सकिन्छ । तर केन्द्रको टेन्डरमा अनौठो मापदण्ड राखिएको छ ।

टेन्डरको विस्तृत विवरणमा फाइभ पार्ट मशिनको प्राविधिक विशेषताअन्तर्गत कम्तीमा प्रतिघण्टा ६० नमूना परीक्षण गर्नसक्ने मापदण्ड राखिएको छ । तर थ्री पार्ट मशिनको प्राविधिक विशेषताअन्तर्गत प्रतिघण्टा कम्तीमा ८० नमूना परीक्षण गर्नसक्ने मापदण्ड राखिएको छ ।

सस्तो र पुरानो प्रविधिको मशिनले बढी काम गर्ने र महंगो र आधुनिक प्रविधिको मशिनले कम काम गर्ने विशेषता र मापदण्ड टेन्डरमा किन राखियो होला ? प्रश्न स्वाभाविक हुन्छ । प्रश्नको जवाफ खोज्दा कुनै अमुक आपूर्तिकर्ता र कम्पनीसँग केन्द्रका पदाधिकारी र कर्मचारीले सेटिङ गरेको हुनसक्ने देखिन्छ ।

थ्री पार्ट मशिनको विशेषता जर्मनी कम्पनी ह्युमनको मोडल नम्बर ‘ह्युमाकाउन्ट ८० टीएस’सँग ठ्याक्कै मिल्छ । फाइभ पार्ट मशिनको विशेषता जर्मनी कम्पनी ह्युमनको मोडल नम्बर ‘ह्युमाकाउन्ट ५डी’सँग ठ्याक्कै मिल्छ ।

हेर्नुहोस् थ्री पार्ट मशिनमा खोजिएको विशेषता

हेर्नुहोस् ह्युमन कम्पनीको मशिनको विशेषता

हेर्नुहोस् फाइभ पार्ट मशिनमा खोजिएको विशेषता

हेर्नुहोस् ह्युमन कम्पनीको मशिनको विशेषता

ह्युमन कम्पनीका उपकरण बिक्रेतासँगको सेटिङमा आपूर्ति केन्द्रले विशेषता र मापदण्ड निर्धारण गरेको देखिन्छ । खरिद प्रक्रियाअनुसार बजारमा रहेका आपूर्तिकर्तासँग उपलब्ध विभिन्न मशिनले प्रतिस्पर्धा गर्न मिल्ने गरी विशेषता र मापदण्ड निर्धारण गरिनुपर्छ ।

फाइभ पार्ट मशिनको प्राविधिक विशेषतामा अर्काे शर्त पनि राखिएको छ । क्र.स. ४.४ मा मशिनले थ्री पार्टको मोडमा पनि काम गर्नुपर्ने शर्त राखिएको छ ।

खरिद प्रक्रियाका न्युनतम सिद्धान्त विपरीत कुनै अमूक कम्पनीले मात्रै आपूर्ति गर्न मिल्ने गरी प्राविधिक मापदण्ड तय गरिएको आपूर्तिकर्ताको आरोप छ । ‘खरिद प्रक्रियामा धेरै आपूर्तिकर्ताले प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्छ, मार्केट स्टडी गर्नुपर्‍यो । कानूनी मापदण्ड बढी र कडा राखेर प्रतिस्पर्धालाई संकुचित बनाइएको छ, किन त्यसो गरेको भन्ने भयो ?’ नाम नखुलाउने शर्तमा एक आपूर्तिकर्ताले भने, ‘ल्याबका लागि चाहिने ११ थरिका आईटम प्याकेजमा खरिद गर्न खोजिएको छ, त्यसलाई टुक्र्याइदिएको भए धेरै आपूर्तिकर्ताले प्रतिस्पर्धा गर्न पाउँथे, सरकारले सस्तोमा उपकरण पाउँथ्यो । आपूर्तिकर्ताको अनुभव र कारोबारको मापदण्ड पनि बढी राखिएको छ ।’

केन्द्रको खरिद समितिमा विभिन्न निकायबाट प्रतिनिधिहरू पनि सहभागी हुन्छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्रतिनिधि रहेका बायोमेडिकल इन्जिनीयर आशुतोष भण्डारीले प्रिबिड मिटिङ सकिएर विशेषता संशोधनको प्रक्रियामा रहेको जानकारी दिए । ‘टेन्डरमा संशोधन हाल्ने काम भइरहेको छ, छलफलअनुसार संशोधन हुनसक्छ,’ उनले भने, ‘साझा मापदण्ड कुन हुन्छ, अध्ययन गरेर आज या भोलिसम्म संशोधन आउँछ ।’

आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले आफू खरिद समितिमा नभएको दाबी गरे । ‘खरिद प्रक्रियामा खरिद कमिटी हुन्छ, त्यसमा कार्यालय प्रमुख हुँदैन । अन्य कर्मचारी बनाएर बस्नुपर्छ । संशोधनको डेटमा बैठक बस्यौं, उजुरी गर्ने ठाउँ होला ।’ तर टेन्डरको सूचनादेखि कागजातहरूमा निमित्त निर्देशक डा. अर्यालकै हस्ताक्षर रहेको देखिन्छ ।

यसअघि पनि आपूर्ति केन्द्रका उपकरण खरिदमा अनियमितता हुने गरेको गुनासो आउने गरेको थियो । आपूर्ति केन्द्रमा करोडौंको उपकरण खरिद हुने भएकाले कार्यालय प्रमुख बन्न पनि चलखेल हुने गरेको स्रोतले जनाएको छ । आपूर्ति केन्द्रमा माथिल्लो तहको दरबन्दी भए पनि दशौं तहका डा. निरज अर्यालले निमित्त भएर चलाइरहेका छन् । राजनीतिक पहुँच र आर्थिक प्रभावमा केन्द्रको कार्यालय प्रमुख भइराख्न चलखेल हुने गरेको बताइन्छ ।

डा. अर्याल सेती प्रादेशिक अस्पतालका दशौं तहका रेडियोलोजिष्ट हुन् । उनी सेतीमा एक्लै रेडियोलोजिष्ट रहेका सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले जानकारी दिए । स्रोतका अनुसार उनले समय पाउँदा मात्रै सेतीमा आएर सेवा दिने गरेका छन्, अन्य समयमा आएका बिरामीले सेवा लिन निजी मेडिकल र अस्पतालतिर धाउनुपर्ने बाध्यता रहेको छ । सुदूरपश्चिमभरका बिरामी र सेवाग्राही आउने अस्पतालका १ मात्रै रेडियोलोजिष्ट डा. अर्याल उपकरण खरिदमा व्यस्त रहँदा बिरामीलाई मर्का परेको देखिन्छ ।

केन्द्रले भदौ १८ गतेको सूचनाअनुसार प्याकेज–१ अन्तर्गत झण्डै ७२ लाख र प्याकेज–२ अन्तर्गत झण्डै ५४ लाखका उपकरण खरिद गर्दैछ भने भदौ १९ गतेको सूचनाअनुसार प्याकेज–१ अन्तर्गत झण्डै ६ करोड, प्याकेज–२ अन्तर्गत झण्डै १ करोड १२ लाख र प्याकेज–३ अन्तर्गत झण्डै २ करोड ६० लाख रुपैयाँ बराबरको उपकरण गर्दैछ ।

आपूर्तिकर्ता छनोट गर्दा सुरुमा प्राविधिक विशेषता र मापदण्डको मूल्यांकन गरिन्छ । प्राविधिक विशेषता कुनै कम्पनीसँग मिल्ने गरी राखिएको अवस्थामा अन्य कम्पनी पहिलो चरणमा प्रतिस्पर्धाबाट बाहिरिन्छन् तर दोस्रो चरणमा हुने वित्तीय प्रतिस्पर्धामा सीमित कम्पनी मात्रै छनोटमा पर्ने हुन्छ । जसले गर्दा कम प्रतिस्पर्धा भई उपकरण खरिदमा सरकारी निकायले बढी रकम खर्च गर्नुपर्ने हुन्छ ।

यी हुन् टेन्डरका सूचना –

सम्बन्धित
Loading...