धनगढी । कैलालीको धनगढीस्थित माया मेट्रो हस्पिटल प्रालिमा अवैध धन्दा गर्ने विशेषज्ञ चिकित्सकविरुद्ध उजुरी परेको पाइएको छ ।
सेती प्रादेशिक अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत दशौं तह विशेषज्ञ चिकित्सक कार्डियोलोजिष्ट डा. कृष्णचन्द्र अधिकारीले निजी अस्पताल माया मेट्रोमा काम गर्ने गरेको पाइएपछि उनीविरुद्ध उजुरी परेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय धनगढीमा उनीविरुद्ध उजुरी परेको छ । मन्त्रालयका प्रवक्ता वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्कीले उजुरी प्राप्त भएको जानकारी दिए । ‘उजुरीमाथि छानबिन गरी राय दिन सेती प्रादेशिक अस्पताललाई लेखी पठाइएको छ,’ उनले भने ।
कार्डियोलोजिष्ट डा. अधिकारीले ‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२’को प्रावधान विपरीत माया मेट्रोमा काम गर्ने गरेको भन्दै कारवाहीका लागि उजुरी परेको छ ।
‘कार्यविधिको दफा १६ उपदफा (१) कार्यस्थलमा खटिएका विशेषज्ञ चिकित्सकहरूको काम, कर्तव्य र अधिकार सम्बन्धी प्रावधानको खण्ड (ज) मा ‘सेवा अवधिभर विशेषज्ञ चिकित्सकले निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने’ उल्लेख रहेको । निज डा. कृष्णचन्द्र अधिकारीको छात्रवृत्ति बापतको सेवाअवधि २०७८/०९/२१ गतेदेखि २०८०/०९/२० गतेसम्म रहेको पाइयो,’ उजुरीमा उल्लेख छ, ‘कार्यविधिको दफा १६ उपदफा (३) मा ‘उपदफा १ को खण्ड (ज) मा उल्लेखित प्रावधानको उल्लंघन गरेमा निजको लाइसेन्स निलम्बन गरिनेछ’ भनी उल्लेख भएबाट छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सकले निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्नु दण्डनीय देखिन्छ ।’
उजुरीमा डा. अधिकारीले कार्यविधिको प्रावधान उल्लंघन गरेकाले लाइसेन्स निलम्बनको प्रक्रिया अगाडि बढाई कारवाही गरी चिकित्सा क्षेत्रको बेथिति अन्त्य गर्न माग गरिएको छ ।
राम्रोन्युज डट्कमले डा. अधिकारीले अवैध रूपमा माया मेट्रो हस्पिटलमा काम गर्ने गरेको खुलासा गरेको थियो ।
पढ्नुहोस् यो पनि – सेती अस्पतालका यी डाक्टरको माया मेट्रो हस्पिटलमा महिनौंदेखि अवैध संलग्नता
माया मेट्रोले डा. अधिकारीको नाम, फोटो र उपाधिलाई आफ्नै डाक्टरसरह वेबसाइटमै राखेको छ । छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सकले निजीमा सेवा गर्न नपाइने प्रावधानविपरीत माया मेट्रोलले सरकारी चिकित्सकलाई खुलेआम चिकित्सकीय टीममा राखेको छ ।
वेबसाइटमा यस्तो देखिन्छ –
सेती प्रादेशिक अस्पतालमा आउने बिरामीले उपचार पाउन ३–४ महिना पालो कुर्नुपर्ने बाध्यता रहेको पाइन्छ । तर सोही अस्पतालका सरकारी चिकित्सक भने निजी अस्पतालतिर व्यस्त रहेका पाइन्छन् । स्वास्थ्य क्षेत्रमा रहेको यस्तो बेथिति अन्त्य गर्न प्रदेश सरकार र प्रादेशिक अस्पतालको नेतृत्वले कुनै पहल नलिएको गुनासो छ ।
पढ्नुहोस् यो पनि –
माया मेट्रो हस्पिटलका डाक्टर झूटा उपाधिले सेवाग्राही झुक्याउँदै, ठगिनुहोला नि !
निसर्ग हस्पिटलका डाक्टरको ‘नक्कली उपाधि’ : पैसा कमाउन बिरामीसँग यस्तो जालझेल !
सेतीमा खटिएका डाक्टरको नाम बेचेर नवजीवन अस्पतालको तडकभडक !
छात्रवृत्तिमा पढेर सरकारी तलब खाने यी डाक्टरको निजी अस्पताल नवजीवनसँग अवैध साठगाँठ