धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा सेवा गर्न खटिएका २ जना डाक्टरको नाम बेचेर नवजीवन अस्पताल प्रालिले तडकभडक प्रचार गरेको फेला परेको छ ।
छात्रवृत्तिमा अध्ययन पूरा गरी सरकारी अस्पतालमा सेवा गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट सेती प्रादेशिक अस्पताल धनगढीमा खटाइएका डाक्टर कन्सल्टेन्ट युरोलोजिस्ट डा. दुर्गा पण्डित र कन्सल्टेन्ट न्युरो सर्जन डा. सन्देश दाहालको नाममा नवजीवनले प्रचारप्रसार गरेको हो ।
नवजीवनले विभिन्न अनलाइन मिडिया र फेसबूक पेजमार्फत दुवै डाक्टरको फोटो र नाम राखेर प्रचार गर्दै ‘पूर्णकालीन सेवा’ सुरु भएको भनेको छ । तर दुवै डाक्टरलाई मन्त्रालयले सेतीमा सेवा गर्न खटाएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. शेरबहादुर कमरले अस्पतालमा खटिएका डाक्टरले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सरकारी अस्पतालमै काम गर्नुपर्ने बताए । उनका अनुसार डाक्टरले विज्ञापन समेत गर्न पाउँदैन । तर नवजीवन अस्पतालले दुवै डाक्टरको नाम र फोटो राखेर निजी अस्पतालका डाक्टर जस्तो देखिने गरी प्रचारप्रसार गरिरहेको छ ।
सरकारी सेवामा रहेका डाक्टरले निजी अस्पतालमा काम गर्दा पूर्व स्वीकृति लिनुपर्ने प्रावधान पनि दुवै डाक्टरले उल्लंघन गरेका छन् । निमित्त मेसु कमरले डाक्टरले निजीमा काम गर्नुअघि सामाजिक विकास मन्त्रालयबाट पूर्व स्वीकृति लिनुपर्ने बताए । सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्कीले पूर्व स्वीकृति नलिइएको जानकारी दिए । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३२. ले अन्यत्र सेवा गर्न चाहेमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
दफा ३२ (१) र (२) मा लेखिएको छ, ‘(१) सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सम्बन्धित निकायले तोकेको समयमा अन्यत्र सेवा गर्न पाउने छैन । (२) उपदफा (१) मा उल्लिखित समय बाहेकको समयमा कुनै चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले अन्यत्र सेवा गर्न चाहेमा सम्बन्धित निकायको पूर्व स्वीकृति लिनुपर्नेछ ।’
(नवजीवन अस्पतालको फेसबूक पेजबाट लिइएको)
पहिल्यैदेखि जनशक्ति हुँदाहुँदै सेतीमै थप, अनि निजीमा ध्यान …
सेती प्रादेशिक अस्पतालमा २ जना नयाँ डाक्टर खटिनुअघि नै युरो र न्युरो सम्बन्धी डाक्टर कार्यरत थिए । सेती अस्पतालमा पहिल्यैदेखि युरो सम्बन्धी डा. जोनस तिवारी र डा. सुरेन्द्र बस्नेत कार्यरत छन् भने न्युरोमा डा. बिकेश खम्बु श्रेष्ठ कार्यरत छन् । नयाँ प्राप्त भएका २ डाक्टरलाई पनि मन्त्रालयले सेतीमै खटाएको छ । सेतीमा खटिएका डाक्टरलाई देखाएर पूर्णकालीन सेवा भनी निजी अस्पतालले प्रचार गरिरहेका छन् ।
युरो र न्युरो सेवालाई सुदूरपश्चिमका अन्य अस्पतालमा पनि विस्तार गर्न मन्त्रालयले अन्यत्र पनि पठाउन सक्थ्यो । तर पहिल्यैदेखि जनशक्ति हुँदाहुँदै सेतीमा किन खटायो ? सेतीमा खटिएका डाक्टर निजी अस्पतालको पूर्णकालीन सेवा विस्तारमा किन खटिए ? प्रश्न तेर्सिएको छ ।
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले न्युरो र युरो सम्बन्धी डाक्टर माग गरिएको बताए । उनले भने, ‘सचिवज्यू र मन्त्रीज्यूसँग कुरा भएको छ, अब आउने डाक्टर महाकालीमै खटाउँछु भन्नुभएको छ ।’
सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले बिरामीको चाप र माग हेरेर दुवै जनालाई सेती अस्पतालमा खटाइएको जानकारी दिए ।