सेती अस्पतालका यी डाक्टरको माया मेट्रो हस्पिटलमा महिनौंदेखि अवैध संलग्नता

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत विशेषज्ञ चिकित्सक डा. कृष्णचन्द्र अधिकारीको माया मेट्रो हस्पिटलमा अवैध संलग्नता रहेको पाइएको छ ।

सरकारी निर्णयअनुसार छात्रवृत्तिमा पढेर सेती अस्पतालमा ‘छात्रवृत्ति करार’ सेवामा कार्यरत रहेका डा. अधिकारीले ‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२’को उल्लंघन गरेका छन् ।

‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२’ अनुसार छात्रवृत्ति करार सेवा अवधिभर निजी अस्पताल र स्वास्थ्य संस्थामा काम गर्न पाइँदैन ।

कार्यविधिको दफा १६(१) कार्यस्थलमा खटिएका विशेषज्ञ चिकित्सकहरूको काम, कर्तव्य र अधिकार सम्बन्धी प्रावधानको (ज) मा लेखिएको छ, ‘सेवा अवधिभर विशेषज्ञ चिकित्सकले निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने ।’

विशेषज्ञ चिकित्सकले सेवा अवधिभर निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने स्पष्ट व्यवस्था रहे पनि डा. अधिकारीले त्यसको उल्लंघन गर्दै माया मेट्रो हस्पिटलमा सेवा दिइरहेका छन् ।

छात्रवृत्ति करारबाहेक अन्य सरकारी सेवामा रहेका चिकित्सकले निजी अस्पतालमा काम गर्दा पूर्व स्वीकृति लिनुपर्छ । तर छात्रवृत्ति करारका चिकित्सकलाई भने पूर्व स्वीकृति लिने प्रावधान पनि देखिँदैन । छात्रवृत्ति करारका चिकित्सकलाई निजी रूपमा सेवा गर्न बर्जित नै गरिएको कार्यविधिमा उल्लेख छ ।

यसरी कार्यविधिको प्रावधान विपरीत डा. अधिकारीले महिनौंदेखि अवैध रूपमा माया मेट्रोमा सेवा दिइरहेका छन् । डा. अधिकारीले आफूले माया मेट्रो हस्पिटलमा सेवा दिइरहेको स्वीकारे ।

उनले भने, ‘नियुक्ति पत्रमा निजीमा काम नगर्ने भनेर उल्लेख छैन । नियुक्तिमा कहीँ पनि लेखिएको छैन । त्यो कार्यविधि मलाई थाहा भएन । सेतीमा खटिएको समयबाहेक अन्यत्र काम गर्न पाइन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सकले निजीमा काम गर्न नपाइने बताए । ‘छात्रवृत्ति करारको सेवा अवधिभर निजीमा काम गर्न पाइँदैन,’ उनले भने, ‘कार्यविधि थाहा छैन भन्न पाइएन । कानून थाहा छैन भनेर छुट पाइँदैन ।’

सम्बन्धित
Loading...