महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर समेत विभिन्न क्षेत्रमा अवैध रूपमा स्वास्थ्य संस्था र अस्पताल सञ्चालनमा रहेको पाइएको छ ।
सरकारी निकायले प्रभावकारी अनुगमन र नियन्त्रण नगर्दा महेन्द्रनगर बजार क्षेत्रमै दर्ता विनाका अस्पताल र स्वास्थ्य संस्था निर्वाध रूपमा सञ्चालनमा रहेका छन् ।
भीमदत्त नगरपालिकाको भाँसीमा शितल हस्पिटल दर्ता नै नगरी पहिल्यैदेखि सञ्चालनमा रहेको छ । महेन्द्रनगर बजारको गल्ली नम्बर ४ मा सञ्जीवनी मल्टिस्पेसियालिटी क्लीनिक दर्ता विनै सञ्चालनमा छ । अन्य कतिपय क्लिनिक समेत दर्ता नै नगरी निर्वाध सञ्चालनमा छन् ।
यी अस्पताल र क्लिनिकले विशेषज्ञ डाक्टरले सेवा दिने भनेर स्वास्थ्य कार्य सञ्चालन गरिरहेका छन् । सञ्जीवनीका सञ्चालक रविन ठगुन्नाले क्लिनिक दर्ता प्रक्रियामा रहेको बताए । १५ शय्यासम्मको स्वास्थ्य संस्था स्थानीय तहमा दर्ता हुने मापदण्ड रहेकाले बजारनजिकै भीमदत्त नगरपालिका हुँदा समेत दर्ता नै नगरी सञ्चालनमा छन् ।
शितल हस्पितलका सञ्चालक रविन्द्र कुँवरले अस्पताल दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरे । भीमदत्त नगरपालिकामा हस्पिटल दर्ता गर्ने निर्णय भइसकेको र दर्ता प्रमाणपत्र पाउन मात्रै बाँकी उनले बताए । तर अस्पताल दर्ता नहुँदै पहिल्यैदेखि सञ्चालनमा रहेको छ ।
स्रोतका अनुसार शितल हस्पिटल सुरुमा दर्ताका लागि स्वास्थ्य कार्यालय पुगेको थियो । स्वास्थ्य कार्यालयबाट अनुगमन हुँदा मापदण्ड नपुगेकाले सुझावसहित मापदण्ड पूरा गर्न भनिएको थियो । तर त्यसपछि शितल हस्पिटलका सञ्चालक स्वास्थ्य कार्यालय गएका छैनन् । मापदण्ड नपुगेर निवेदन फिर्ता भएको अवस्थामा पनि शितलले अस्पताल चलाइरहेको छ ।
भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशीले नगरपालिकामा हालसम्म कुनै पनि अस्पताल र स्वास्थ्य संस्था दर्ता भएका छैनन् । केही स्वास्थ्य संस्था दर्ताका लागि निवेदन आएका भए पनि अध्ययनकै क्रममा रहेका उनले बताए ।
स्वास्थ्य कार्यालय कञ्चनपुरमा १३ स्वास्थ्य संस्था दर्ता भएका छन् । कार्यालयका फाँट प्रमुख कपिलदेव जोशीले इशान मेमोरियल बेलौरी, पुनर्वास पोलिक्लिनिक, टीएनसी हस्पिटल प्रालि, झलारी पोलिक्लिनिक प्रालि, शुक्लाफाँटा पोलिक्लिनिक झलारी, निमेष अस्पताल कृष्णपुर, ललित मेडिकल एण्ड हेल्थ क्लीनिक बेदकोट, भरोसा केयर पोलिक्लिनिक महेन्द्रनगर, मन्त्र हस्पिटल प्रालि, बिमल डेन्टल महेन्द्रनगर, यूएस डेन्टल झलारी, स्मृति हेल्थ केयर महेन्द्रगर, दीर्घायू क्लीनिक बेदकोट दर्ता भएका जानकारी दिए ।
यो पनि पढ्नुहोस् –
निसर्ग हस्पिटलका डाक्टरको ‘नक्कली उपाधि’ : पैसा कमाउन बिरामीसँग यस्तो जालझेल !
सेतीमा खटिएका डाक्टरको नाम बेचेर नवजीवन अस्पतालको तडकभडक !
स्वास्थ्य कार्यालय कञ्चनपुरले २०८० साउन मसान्तभित्र स्वास्थ्य संस्था सञ्चालनको इजाजत लिन तथा नविकरण गर्न साउन ४ गते सूचना नै प्रकाशित गरेको थियो । तर कतिपय अस्पताल र स्वास्थ्य संस्था दर्ता प्रक्रियामा नै आएका छैनन् ।
सरकारी मापदण्डअनुसार १५ शय्यामुनिका स्वास्थ्य संस्था स्थानीय तह, १५–२५ शय्याका स्वास्थ्य कार्यालय र २५ शय्याभन्दा माथिका अस्पताल स्वास्थ्य निर्देशनालयमा दर्ता हुने प्रावधान छ । कञ्चनपुरबाट कुनै पनि स्वास्थ्य संस्था निर्देशनालयमा दर्ता भएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले भने धनगढीमा दर्ता विना सञ्चालनमा रहेका २ अस्पताललाई बन्द गर्न निर्देशन दिएको थियो । कञ्चनपुर प्रशासनले भने अनुगमनमा ध्यान पुर्याएको छैन ।
सरकारी निकायले कुनै बेला खुद्रा किराना पसल अनुगमन गरेर जरिवाना तिराउँछन् तर अस्पताल जस्तो संवेदनशील सेवा अवैध रूपमा सञ्चालन हुँदा पनि मुकदर्शक हुने गरेका छन् ।
यस्तो थियो स्वास्थ्य कार्यालयको सूचना –