झलारी । कञ्चनपुरको जिल्ला सदरमुकाम बेलौरी भएको बेलादेखि प्रचलनमा रहेको सडक हो कलुवापुर–बेलौरी सडक । पछि जिल्ला सदरमुकाम महेन्द्रनगर सरेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रलाई जिल्ला सदरमुकामसँग जोड्ने प्रमुख सडकमध्ये नै पर्छ कलुवापुर–बेलौरी सडक ।
यहीँ सडक निर्वाचनका बेला चुनावी एजेन्डा पनि बन्ने गर्छ । गत प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला नेपाली कांग्रेसबाट उम्मेदवार रहेका नारायणप्रकाश (एनपी) साउदले चुनावी कार्यक्रममा कलुवापुर–बेलौरी सडकबारे भनेका थिए, ‘ठेक्का दिइसक्या छ त ! ठेकेदारको कान समातेर लौ गर, यसमा पीच गर भन्नुपर्छ कि पर्दैन ? यदि म निर्वाचित भएको वर्ष यो काम धमाधम पीचको काम भएन भने म ठेकेदारलाई पनि निकालिदिन्छु सरकारलाई दबाब दिएर, म सिधा कुरा गर्छु ।’
चुनावी भाषणमा उनले ‘म निर्वाचित भएको वर्ष यो काम धमाधम पीचको काम भएन भने …’ भनेका छन् । उनी निर्वाचित भएको वर्ष विक्रम संवत् २०७९ हो । उनी निर्वाचित भएको वर्ष सकिएर अर्काे वर्ष लागेको पनि ९ महिना पूरा हुँदैछ तर उनले न ठेकेदारको कान समातेर काम गराउन सकेका छन्, न ठेकेदारलाई निकाल्न नै सकेका छन् ।
चुनावमा भाषण ठोकेर माननीय हुँदै मन्त्री बनेका एनपी साउदले जनतालाई ठग्न, ढाँट्न र झुल्याउन चाहिँ सकेका छन् । किनकि कलुवापुर–बेलौरी सडक उनको प्राथमिकतामा परेको देखिएको छैन । उनले जनतालाई ढाँटेरै भए पनि भोट बटुल्नु र चुनाव जित्नु थियो, उनी चुनाव जितेर आफ्नो मिसनमा सफल नै भएका छन्, यसबाट जनता भने ठगिएका छन् ।
यसअघि उनी कञ्चनपुर आएको बेला स्थानीय वासिन्दाले चक्काजाम नै गर्नुपरेको थियो । तैपनि उनी अझै चेतेका छैनन् । उनी यतिबेला फेरि कञ्चनपुर पुगेका छन्, यहीँ मौकामा उनलाई खुलापत्रमार्फत प्रश्न गर्नुपर्ने भएको छ – कलुवापुरमा कान समात्ने कार्यक्रम कहिले राख्नुहुन्छ माननीयज्यू ?
माननीय साउदले दिएको भाकामा उनकै शब्दमा ठेकेदारको कान समात्न सकेनन् । चुनावका बेला झूटा आश्वासन बाँडेकोमा अब आफ्नै कान समात्ने हो कि माननीयज्यू ?
हेर्नुहोस् मन्त्री साउदले चुनाव प्रचारका क्रममा बोलेको भिडियो –
कलुवापुर–बेलौरी सडक कालोपत्रे नहुँदा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्छ । कुनै–कुनै दिन ठेकेदारले सडकमा पानी छर्किने गरे पनि अधिकांश समयमा स्थानीय वासिन्दाले सास्ती भोग्नुपरेको छ ।
धुलाम्मे सडकबाट शुक्लाफाँटा नगरपालिका–११, १, २ र १२ का वासिन्दालाई सबैभन्दा बढी मर्का परेको छ भने लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाका यात्रुलाई पनि सास्ती हुने गरेको छ ।
कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेका लागि २०७३ भदौ १७ गते सन्तोषी थेगिम जेभी र पूर्वाधार विकास कार्यालय कञ्चनपुरबीच २०७५ भदौ १५ गतेसम्म काम सक्ने गरी सम्झौता भए पनि काममा ढिलासुस्ती भएपछि स्थानीय वासिन्दाले दुःख पाइरहेका छन् ।
(खुला प्रश्न शुक्लाफाँटा नगरपालिकाका स्थानीय जी भट्टबाट प्राप्त)