शुक्लाफाँटाबाट चम्किएका बुँदोकैदोका खेलाडी : जहाँ टेक्यो, त्यहीँ पदक !

झलारी । कञ्चनपुरको शुक्लाफाँटा बुदोकैदो फूल कन्ट्याक्ट कराँते शाखा शुक्लाफाँटा–१ गणेशपुरमा आवद्ध खेलाडीले विभिन्न प्रतियोगितामा पदक जित्न थालेका छन् ।

गणेशपुरमा २०७७ सालदेखि सुरु भएको शाखामा बिहान–साँझ प्रशिक्षण लिने गरेका विद्यार्थी खेलाडी प्रतियोगितामा सहभागी हुँदा रित्तो हात फर्किंदैनन् । पछिल्लोपटक कञ्चनपुरमा भएको प्याब्सन महोत्सवमा सूर्याेदय पब्लिक स्कूलमा अध्ययनरत बुँदोकैदो आवद्ध विद्यार्थीले थुप्रै पदक जितेका छन् । महोत्सवमा सूर्याेदय स्कूल प्रथम भएको छ ।

बुदोकैदो फूल कन्ट्याक्ट कराँतेमा आवद्ध विद्यार्थीहरू वविता विष्ट, पूजा साउँद, अस्मिता राना, रेखा भट्ट, रविता चन्द र लक्ष्मी विष्टले पदक जितेका छन् । यी खेलाडी समेतको पदकले सूर्याेदयलाई प्रथम बनाउन योगदान पुर्‍याएको थियो ।

विद्यार्थी खेलाडी वविताले हाई जम्प, १००–४ मिटर रिले दौड, ४००–४ मिटर रिले दौड, २०० मिटर दौड र १०० मिटर दौडमा स्वर्ण पदक हात पारेकी छन् ।

अर्की खेलाडी पूजा साउँदले १००–४ मिटर रिले दौड, ज्याब्लिङ थ्रो र शटपुटमा स्वर्ण हात पारेकी छन् । खेलाडी अस्मिता रानाले ४००–४ मिटर रिले दौडमा स्वर्ण र ४०० मिटर दौडमा रजत पदक जितेकी छन् ।

खेलाडी रेखा भट्टले ४००–४ मिटर रिले दौडमा स्वर्ण र ८०० मिटर दौडमा कास्य हात पारेकी छन् । खेलाडी रविता चन्दले १००–४ मिटर रिले दौडमा स्वर्ण र ट्रिपल जम्पमा कास्य हात पारेकी छन् ।

खेलाडी लक्ष्मी विष्टले ४००–४ मिटर रिले दौडमा स्वर्ण पदकका लागि योगदान गरेकी छन् ।

यसअघि बन्साह कभर्ड हलमा भएको प्रथम प्रदेशस्तरीय बुँदोकैदो फूल कन्ट्याक्ट कराँते प्रतियोगिता २०८० मा समेत यी खेलाडीहरूले पदक जितेका थिए । प्रतियोगितामा वविता विष्टले महिला ४० किलो तौलमा कास्य पदक जितेकी थिइन् । पूजा साउँदले महिला खुला तौल समूहमा स्वर्ण, अस्मिता रानाले महिला ५० किलो तौल समूहमा कास्य, रेखा भट्टले महिला खुलामा रजत पदक जितेकी थिइन् । खेलाडी रविता चन्दले महिला खुलामा सान्त्वना स्थान प्राप्त गरेकी थिइन् ।

राष्ट्रियस्तरमा भएका प्रतियोगितामा समेत यी खेलाडीले पदक जितेका छन् । ५औं राष्ट्रव्यापी सुनाकोटी बुँदोकैदो फूलकन्ट्रयाक्ट कराँते प्रतियोगिता २०८० मा पूजा साउँद खुलातर्फ द्वितीय र रेखा भट्ट ४५ किलो तौल समूहमा तृतीय भएकी थिइन् ।

१७औं किसिपिडी राष्ट्रव्यापी बुँदोकैदो फूलकन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ मा पूजा साउँद खुलातर्फ तृतीय र वविता विष्ट ४० किलो तौल समूहमा तृतीय भएकी थिइन् ।

१७औं राष्ट्रिय बुँदोकैदो फूलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८० मा अस्मिता रानाले ५० किलो तौल समूहमा कास्य पदक जितेकी थिइन् ।

फूलकन्ट्याक्ट कराँतेमा आवद्ध खेलाडीहरूलाई लगातार पदक जित्दा खुशी लाग्ने गरेको शुक्लाफाँटा शाखाका प्रमुख प्रशिक्षक लक्ष्मण बोहराले बताए । ‘हाम्रा खेलाडीले पदक जित्नु खुशीको कुरा हो । गाउँमा खेलिरहेका खेलाडीले जिल्ला, प्रदेश र राष्ट्रव्यापी प्रतियोगितामा आफूलाई अब्बल सावित गरिरहेका छन्, यहाँबाट त्यहाँसम्म पुग्नु राम्रो भयो,’ उनले भने, ‘सुरुसुरुमा खेल भनेको के हो भन्ने नै धेरैलाई थाहा थिएन । अब विस्तारै–बिस्तारै बुझ्दै गएका छन् ।’

शुक्लाफाँटा नगरपालिकाको १, २ र १२ नम्बर वडाका लागि ७० खेलाडी शाखामा आवद्ध छन् ।

बुँदोकैदो फूलकन्ट्याक्ट कराँते नेपालमा नै उत्पादन भएको मौलिक खेल रहेको प्रमुख प्रशिक्षक बोहराले जानकारी दिए । ‘यो खेल नेपालमा उत्पादन भएर विश्वभर विभिन्न देशमा फैलिएको छ,’ उनले भने, ‘विदेशमा खेल्दा पनि त्यहाँका खेलाडीको पोशाकमा नेपाली झण्डा अनिवार्य राख्नुपर्छ । अन्य देशले पनि नेपाली शैलीमा सिकाउने गर्छन् ।’

सम्बन्धित
Loading...