युग अनुसारको प्रविधिमैत्री सिकाइमा रातदिन घोत्लिएका शुक्लाफाँटाका राजेन्द्र सर

झलारी । हरेक आमव्यक्तिका लागि सिकाइ जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । तर शिक्षण पेशामा रहेका व्यक्तिका लागि सिकाइको विशेष अर्थ र महत्त्व हुन्छ । बदलिँदो समय र युगअनुसार शिक्षक रूपान्तरण हुन नसके त्यसको नकारात्मक असर विद्यार्थीमा पर्छ ।

निरन्तर ‘अपडेट’ भइरहने शिक्षकले व्यक्तिगत क्षमता विकाससँगै शिक्षणमार्फत विद्यार्थीलाई लाभ पुर्‍याइरहेका हुन्छन् । यस्तै खास उदाहरणभित्र पर्ने गणित शिक्षक हुन् कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्री कृष्ण माध्यमिक विद्यालयका शिक्षक राजेन्द्र प्रसाद पाण्डेय ।

कोरोना भाइरस संक्रमणको महामारीका बेला भौतिक कक्षा नहुने भएपछि अनलाइन माध्यमबाट पढाउने लहर चल्यो । तर कतिपय शिक्षक अनलाइनमा अभ्यस्त नहुँदा पठनपाठन प्रभावित भयो । महिनौंसम्म विद्यालय बन्द भए, शिक्षकहरू फुर्सदिला भए ।

श्रीकृष्णका राजेन्द्र सर भने दिन कटाएर बसेनन् । उनलाई अनलाइन प्रविधिसँग आफूलाई अभ्यस्त गराउने प्रयास थाले । कोरोनाकै बेला प्रविधिमैत्री शिक्षण समाजले आयोजना गरेको अनलाइन तालिममा सहभागी भई उनी प्रविधिमैत्री शिक्षक बन्ने बाटोमा लम्किए । ‘त्यतिबेलाको अवस्थाअनुसार शिक्षकहरूले क्षमता विकास गर्नुपर्ने थियो, व्यक्तिगत प्रयासमै अनलाइन तालिममा सहभागी भए,’ उनले भने, ‘त्यो तालिममा प्राप्त भएको ज्ञानलाई मैले निरन्तर प्रयोग र विकास गर्दै प्रविधिको प्रयोगमा अभ्यस्त भएँ ।’

सन् २०२० मा उनले व्यक्तिगत ‘अनलाइन ब्लग’ बनाए । शैक्षिक सामग्री र शैक्षिक जानकारीलाई केन्द्रित गरेर सुरु भएको उनको अनलाइन यात्रा हाल वेबसाइटसम्म पुगेको छ । हाल उनले आरपीपी डट्कम डट्एनपी वेबसाइट सञ्चालनमा ल्याएका छन् । वेबसाइटलाई ‘एकेडेमिक डायरी’ बनाइएको छ । उनको वेबसाइटमा शिक्षक र विद्यार्थीका लागि आवश्यक अधिकांश सूचना, जानकारी र दस्तावेज उपलब्ध छन् । शिक्षासँग सम्बन्धित ताजा जानकारी, परिपत्र, निर्देशनहरू ‘एकेडेमिक डायरी’मा उपलब्ध भइहाल्छन् ।

विद्यालयमा अध्यापन गराउनुपर्ने समयबाहेक उनले स्वध्ययन र प्राविधिक ज्ञान आर्जनमा लगाउने गर्छन् । हालै चर्चामा रहेका कृत्रिम बौद्धिकता (एआई) को उपयोगलाई पनि उनले प्रयोग गर्ने गरेका छन् । युगअनुसारको प्रविधि र ज्ञानको प्रयोग गर्दै उनले व्यक्तिगत क्षमता विकाससँगै विद्यार्थीलाई पनि प्रविधिको माध्यमबाट श्रव्यदृश्य सामग्रीमार्फत पठनपाठन गर्ने गरेका छन् ।

२०५१ सालमा श्रीकृष्ण माविमा निजी स्रोत शिक्षकको रूपमा शिक्षण पेशा थालेका उनले २०५४–५५ सालमा डडेल्धुराको भद्रपुर माविमा गणित–विज्ञान शिक्षक भएर काम गरे । २०५५ देखि २०५८ सालसम्म धर्म जनता मावि स्टेसनपुरमा गणित–विज्ञान शिक्षक भई कार्यरत रहे । उनी २०५८ सालमा अस्थायी शिक्षकको रूपमा कृष्ण मावि झलारीमा आए । यसैक्रममा उनले २०६३ सालमा निम्न मावि तह गणित विषयको स्थायी शिक्षकमा नाम निकाले । त्यसयता उनी कृष्ण माविमै कार्यरत छन् ।

विद्यालयमा उनले अध्यापन गराउने प्रविधिमैत्री कक्षाकोठा छुट्टै छ । उनले आफू पनि प्रविधिको प्रयोग गरेर पढाउँछन् भने विद्यार्थीलाई पनि प्रविधिको प्रयोग गर्न सिकाउँछन् । ‘कहिलेकाहीँ म कक्षामा आउन ढिला हुँदा विद्यार्थीले नै कम्प्युटर खोलेर पढ्नुपर्ने पाठ निकालेका हुन्छन्, विद्यार्थी पनि प्रविधिमा अभ्यस्त हुँदैछन्,’ उनले भने ।

प्रविधिमैत्री कक्षा सञ्चालन गर्दा कहिलेकाहीँ व्यक्तिगत लगानीमै शैक्षिक सामग्री जुटाउनुपरेको उनले बताए । ‘नयाँ प्रविधिबारे ज्ञान लिन र त्यसको प्रयोगमा अभ्यस्त हुन पर्याप्त समय खर्चिनुपर्छ, नियमित गर्नैपर्ने शैक्षिक क्रियाकलाप र घरायसी कामकाजबाट समय निकालेर प्राविधिक ज्ञानका लागि छुट्टै समय दिनुपर्छ,’ उनले भने, ‘मेरो प्रयासले विद्यार्थीको सिकाइमा फाइदा पुर्‍याउँदा सन्तुष्टि मिलेको छ ।’

गणित विषयका लागि विद्यार्थीले ट्युसन पढ्नमा पनि छुट्टै खर्च गर्नुपर्ने अवस्था रहन्छ । तर शिक्षक पाण्डेयले ट्युसन पढाएको पैसा लिँदैनन् । २०५८ सालमा स्थायी शिक्षक भएदेखि उनले ‘फ्री ट्युसन’ पढाउने गरेको छन् । ‘सामुदायिक विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी आर्थिक अवस्था कमजोर भएका हुन्छन्, उहाँहरूबाट ट्युसनको पैसा लिएर आर्थिक भार बढाउन चाहन्न,’ उनले भने, ‘खानका लागि खेतबाट उत्पादन भइहाल्छ । अन्य खर्च तलबबाट आइहाल्छ । गरीब विद्यार्थीबाट थप शुल्क लिएर पैसा कमाउनु छैन ।’

आध्यात्मिक स्वभावका शिक्षक पाण्डेयले धर्म र सेवामा पनि विश्वास गर्छन् । सेवा भावसहित विद्यार्थीलाई सहयोग पुग्ने काम गर्ने शिक्षकलाई सरस्वती माताको कृपा हुने उनको विश्वास छ । ‘सरस्वती माताकै कृपाले मेरो छोराले भारतको चण्डीगढमा छात्रवृत्तिमा इन्जिनीयरिङ पढ्न नाम निकालेको छ,’ उनले कृतज्ञ हुँदै भने, ‘स्वार्थ र फलको आश नगरी सेवा गर्नुपर्छ । फल मिलिहाल्छ ।’

सम्बन्धित
Loading...