झलारी । गत प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला नेपाली कांग्रेसबाट उम्मेदवार रहेका नारायणप्रकाश (एनपी) साउदले चुनावी कार्यक्रममा कलुवापुर–बेलौरी सडकबारे भनेका थिए, ‘ठेक्का दिइसक्या छ त ! ठेकेदारको कान समातेर यसमा पीच गर भन्नुपर्छ कि पर्दैन ? यदि म निर्वाचित भएको वर्ष यो काम धमाधम पीचको काम भएन भने म ठेकेदारलाई पनि निकालिदिन्छु सरकारलाई दबाब दिएर, म सिधा कुरा गर्छु ।’
उनले सिधा कुरा गर्छु भने पनि काम बाङ्गो भएको छ । चुनावमा एनपी साउद नै जिते । उनी चुनाव जितेर प्रतिनिधिसभा सदस्य हुँदै परराष्ट्रमन्त्री बनेका छन् । उनी निर्वाचित भएको १ वर्ष पुग्नै लाग्यो । तर न त धमाधम पीचको काम भएको छ, न त ठेकेदारको कान समातियो, न त ठेकेदारलाई निकालियो ।’
वर्षाैंदेखि सडक कालोपत्रेको पर्खाइमा रहेका स्थानीय वासिन्दा यतिबेला आक्रोशित बनेका छन् । परराष्ट्रमन्त्री एनपी साउद शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न आएका बेला स्थानीयले कलुवापुर–बेलौरी सडकखण्डमा चक्काजाम गरेका छन् ।
हेर्नुहोस् मन्त्री साउदले चुनाव प्रचारका क्रममा बोलेको भिडियो –
‘वर्षौदेखि यो सडक अलपत्र अवस्थामा छ, सडक कहिले धुलो र कहिले हिलाम्य हुन्छ,’ स्थानीय मोहनराज पन्तले भने, ‘सडकमा उड्ने धुलोबाट बिरामी भइरहेका छौं, सडक छेउका घरहरूमा बस्न सकिने अवस्था छैन ।’ धुलो नियन्त्रणका लागि ठेकेदार कम्पनीले केही समय पानी छर्किए पनि हाल पानी छर्किने काम पनि बन्द छ ।
सडकबाट उड्ने धुलोका कारण स्वास्थ्यमा असर गरिरहेको स्थानीय ज्ञानी साउदले बताए । ‘४ दशकदेखि कालोपत्रेको पर्खाइमा रहेको बेलौरी–कलुवापुर सडकखण्ड निर्माणमा बारम्बार नेताहरूले चुनावी नारा लगाउँछन्,’ उनले भने, ‘जहिल्यै नेताहरूले जनतालाई झुक्याउने र ठेकेदारले समेत बेलाबेलामा सडक निर्माण गर्छु भन्दै प्रतिबद्धता जनाएर सर्वसाधारणलाई ठग्ने कार्य मात्रै गरेको छ ।’
धुलाम्मे सडकबाट शुक्लाफाँटा नगरपालिका–११, १, २ र १२ का वासिन्दालाई सबैभन्दा बढी मर्का परेको छ भने लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाका यात्रुलाई पनि सास्ती हुने गरेको छ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका वासिन्दा नरेन्द्र भट्टले एनपी साउद कञ्चनपुरमा रहँदासम्म सडक बन्द रहने भनेर सामाजिक सञ्जालमा लेखेका छन् । उनले लेखेका छन्, ‘चुनावका बेला मात्र जनतामाझ आएर झूटा आश्वासन दिने, जितेर फर्की नहेर्ने एनपी साउद कञ्चनपुरमा हुञ्जेलसम्म कलुवापुर–बेलौरी सडकखण्ड बन्द रहनेछ । असुविधाका लागि क्षमाप्रार्थी छौं ।’
मन्त्री साउदलाई उनकै क्षेत्रका मतदाताले सडक बन्द गरेर व्यंग्यात्मक स्वागत गरेका छन् । उनी शुक्लाफाँटा नगरपालिका समेत पर्ने कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
मन्त्री साउदको गृहपालिका पनि शुक्लाफाँटा नगरपालिका नै हो । तर उनले शुक्लाफाँटाबाट बेलौरी जान बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिकाको घुमाउरो बाटो प्रयोग गरेकोप्रति पनि स्थानीय आक्रोशित छन् । शुक्लाफाँटाको कलुवापुर–बेलौरी सडकखण्डबाट छिटो बेलौरी पुगिन्छ । तर स्थानीयको आन्दोलन र आक्रोशलाई सम्बोधन नगरी मन्त्री साउद ‘भागेर’ घुमाउरो बाटो बेलौरी गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेका लागि २०७३ भदौ १७ गते सन्तोषी थेगिम जेभी र पूर्वाधार विकास कार्यालय कञ्चनपुरबीच २०७५ भदौ १५ गतेसम्म काम सक्ने गरी सम्झौता भए पनि काममा ढिलासुस्ती भएपछि स्थानीय वासिन्दाले दुःख पाइरहेका छन् ।