भोट माग्दा एनपी साउद र बहादुर थापाले ढाँटेको ठाउँमा अतिक्रमणकारीकै रजाइँ (भिडियो)

महेन्द्रनगर । चुनावका बेला भोट माग्दा नेताहरूले जे पनि बोलिदिने तर चुनाव जितेपछि जनतालाई बिर्सिने गरेको जनगुनासोको प्रत्यक्ष प्रमाण बनेका छन् कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारायणप्रकाश (एनपी) साउद र प्रदेशसभा सदस्य बहादुरसिंह थापा । यी दुवैले शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गरिएको अतिक्रमण हटाउने प्रतिबद्धता चुनावका बेला गरेका थिए तर चुनाव भएको वर्षदिन बितिसक्दा पनि अतिक्रमण हटाउन सकेका छैनन् । उल्टै हटाउनुपर्ने ठाउँमा अतिक्रमणकारीकै रजाइँ चलेको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवा टोलसँग जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा अतिक्रमण भएपछि स्थानीयले अतिक्रमण हटाउन २०७४ सालदेखि पहल थालेका थिए । अतिक्रमण हटाउने संघर्षले विभिन्न आरोह–अवरोध पार गर्दै ६ वर्ष पूरा गरिसक्यो तर अझैसम्म अतिक्रमण हटेको छैन ।

नेपाली कांग्रेसका प्रभावशाली नेता दलबहादुर बोहरा समेत १२ जनाले निकुञ्जको जग्गा अतिक्रमण गरेका छन् । यसै क्षेत्रबाट चुनाव जितेर परराष्ट्रमन्त्री बनेका साउदसँग पहुँच र नजिक भएका कारण बोहराले शुक्लाफाँटा आरक्ष पीडित समस्या समाधानका लागि मुआब्जा सिफारिस कार्यदलको अध्यक्षमा नियुक्ति समेत खाएका थिए । माथिसम्मै राजनीतिक पहुँच भएका र सरकारी नियुक्ति पाएका व्यक्ति नै अतिक्रमणमा लागेपछि स्थानीयको आवाज कमजोर परेको छ ।

अतिक्रमण हटाउन माग गर्दै विभिन्न निकायमा पुग्दा पनि सार्थक सुनुवाइ नभएको स्थानीयको गुनासो छ । अतिक्रमण हट्न नसके पनि सम्बन्धित निकायबाट अवलोकन, अध्ययन भएर प्रतिवेदन बनेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले २०७९ माघ २६ गते बुझाएको प्रतिवेदनमा लेखिएको छ, ‘विभिन्न मितिहरूमा अतिक्रमण जमिन संरक्षण गराइदिने भनी शुक्लाफाँटा नगरपालिका वडा नं. ५ का वासिन्दाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँ कञ्चनपुरमा निवेदन दिएको ।’

प्रतिवेदनको निष्कर्षमा लेखिएको छ, ‘अतिक्रमण भएको भनिएको जग्गा स्याली नदीको पूर्वपट्टि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको र उक्त क्षेत्र स्याली नदी र बगरले विभिन्न समयमा आफ्नो धार परिवर्तन गर्ने क्रममा परिवर्तन हुँदै गइरहेको हुँदा भविष्यमा उक्त क्षेत्र प्रकोपका दृष्टिकोणबाट जोखिमपूर्ण रहेको देखिन्छ । तसर्थ संवेदनशील क्षेत्रको रूपमा लिई सो क्षेत्रलाई स्थानीय स्तरमा वृक्षरोपण गरी सघन तवरले संरक्षण र सम्बद्र्धन गर्नुपर्ने आवश्यक देखिन्छ ।’

गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रचारका क्रममा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका एनपी साउद र बहादुरसिंह थापासँग स्थानीयले अतिक्रमणको कुरा कोट्याए । कांग्रेसकै मान्छेहरूले अतिक्रमण गरेको गुनासो गरिएपछि एनपी र बहादुर दुवैले अतिक्रमण हटाउने प्रतिबद्धता जनाए । अतिक्रमण हटाउने प्रतिबद्धता गरेपछि एनपीले सोधेका थिए, ‘चित्त बुझ्यो कि बुझेन ?’ उतिबेला मतदाताको चित्त बुझाई भोट मागेका साउद यतिबेला मतदाताको चित्त दुखाइरहेका छन् ।

राजनीतिक आडमा खजुवामा सार्वजनिक जग्गा अतिक्रमण मात्रै भएको छैन, अतिक्रमण हटाउनुपर्छ भन्नेहरूलाई धम्की दिने, गालीगलौज गर्ने गरिएको छ । अति हुन थालेपछि वडा समितिका पदाधिकारीले विज्ञप्तिमा नै प्रकाशित गरेका थिए ।

हेर्नुहोस् विज्ञप्ति –

 स्थानीयको अथक प्रयासपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट अतिक्रमित क्षेत्रलाई मध्यवर्ती सामुदायिक वनको रूपमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो । जसअनुसार वडा समितिले आमभेला बोलाएको थियो । तर आमभेलालाई राजनीतिक संरक्षण पाएका अतिक्रमणकारीले बिथोलेर सार्वजनिक जग्गामाथिको रजाइँ कायमै राखेका छन् ।

हेर्नुहोस् वडा समितिको सूचना –

‘होहल्ला गरेर उपभोक्ता समिति गठन हुनै दिएनन्, राजनीतिक पहुँच र पावर भएकाहरूले मध्यवर्ती सामुदायिक वन बनाउने प्रक्रिया अगाडि बढ्न दिएनन्,’ स्रोतले भन्यो, ‘वन बनाउने प्रक्रिया अगाडि नबढे अतिक्रमणकारीकै बोलबाला हुने भयो । यसमा प्रशासन निरीह देखिएको छ, राजनीतिक पहुँचको दुरुपयोग भएको छ ।’ जग्गा अतिक्रमण गरिरहेको पक्षले आफूलाई पनि आधा जग्गा छाडेर आधा जग्गामा मात्रै वन बनाउने दिने अडान लिएपछि आमभेला बिथोलिएको बताइन्छ ।

वडाध्यक्ष चक्र खड्काले आमभेला बोलाएको भए पनि सीमांकनमा विवाद हुँदा सहमति जुट्न नसकेको बताए । अतिक्रमण गरेको पक्षले विगतदेखि नै भोगचलन गरेकाले जग्गामा आफ्नो हक लाग्ने दाबी गरिरहेको छ ।

‘विगतमा सीडीओ सा’प र बार्डेनसम्म पुगेका हुन्, आर्मी परिचालन भएर फिर्ता भएको अवस्था हो,’ उनले भने, ‘निकुञ्जले जमिन मेरो हो भन्छ तर अतिक्रमण हटाउन काम गर्दैन । निकुञ्जले आफैं गरे पनि हुन्थ्यो ।’

सहमतिका लागि २–३ पटक प्रयास गर्दा पनि सफल हुन नसकेको वडाध्यक्ष खड्काले बताए । ‘भेलाले पनि केही गरेन । उपभोक्ता समिति गठन हुन दिएन । अब हामी निकुञ्जलाई लिखित दिने क्रममा छौं,’ उनले भने ।

निकुञ्जको पूर्वी सेक्टर अर्जुनी कार्यालयका रेञ्जर विवश कलौनीले सामुदायिक वन बनाउन स्थानीयलाई जिम्मा दिइएको बताए । ‘अब उहाँहरूले यथार्थ अवस्थाका आधारमा प्रतिवेदन दिनुहुन्छ,’ उनले भने, ‘निकुञ्ज कार्यालयबाट गर्नुस् भनेर आएपछि हामीले पहल गर्छाैं ।’

चुनावका बेला उम्मेदवारहरू एनपी साउँद र बहादुरसिंह थापाले बोलेका कुरा सुन्नुहोस् –

अतिक्रमण हटाउने ६ वर्षे संघर्ष: मन्त्री र सांसदले भोट लगेर ढाँटे ! अख्तियार हेरेको हेर्‍यै

सम्बन्धित
Loading...