धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवा टोलसँग जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा अतिक्रमण भएपछि स्थानीयले अतिक्रमण हटाउन २०७४ सालदेखि पहल थाले । अतिक्रमण हटाउने संघर्षले विभिन्न आरोह–अवरोध पार गर्दै ६ वर्ष पूरा गरिसक्यो तर अझैसम्म अतिक्रमण हटेको छैन ।
नेपाली कांग्रेसका प्रभावशाली नेता दलबहादुर बोहरा समेत १२ जनाले निकुञ्जको जग्गा अतिक्रमण गरेका छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउँद नजिक भएका कारण बोहराले शुक्लाफाँटा आरक्ष पीडित समस्या समाधानका लागि मुआब्जा सिफारिस कार्यदलको अध्यक्षमा नियुक्ति समेत खाएका छन् । माथिसम्मै राजनीतिक पहुँच भएका र सरकारी नियुक्ति पाएका व्यक्ति नै अतिक्रमणमा लागेपछि स्थानीयको आवाज कमजोर परेको छ ।
अतिक्रमण हटाउन माग गर्दै विभिन्न निकायमा पुग्दा पनि कुनै सुनुवाइ नभएको स्थानीय लालबहादुर कुँवर बताउँछन् । ‘त्यो नदीले धार परिवर्तन गरेपछि बनेको बगर हो, पहिला त्यहाँ खेल मैदान थियो, पछि केही व्यक्तिले अतिक्रमण गरेर प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘२०७४ सालमा अतिक्रमण हटाइ माग्न वडा कार्यालयमा निवेदन दिएँ, निवेदन नै गायब पारियो । निकुञ्ज कार्यालय, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबैतिर पुग्यौं तर कतैबाट सुनुवाइ भइरहेको छैन ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले २०७९ माघ २६ गते बुझाएको प्रतिवेदनमा लेखिएको छ, ‘विभिन्न मितिहरूमा अतिक्रमण जमिन संरक्षण गराइदिने भनी शुक्लाफाँटा नगरपालिका वडा नं. ५ का वासिन्दाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँ कञ्चनपुरमा निवेदन दिएको ।’
प्रतिवेदनको निष्कर्षमा लेखिएको छ, ‘अतिक्रमण भएको भनिएको जग्गा स्याली नदीको पूर्वपट्टि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको र उक्त क्षेत्र स्याली नदी र बगरले विभिन्न समयमा आफ्नो धार परिवर्तन गर्ने क्रममा परिवर्तन हुँदै गइरहेको हुँदा भविष्यमा उक्त क्षेत्र प्रकोपका दृष्टिकोणबाट जोखिमपूर्ण रहेको देखिन्छ । तसर्थ संवेदनशील क्षेत्रको रूपमा लिई सो क्षेत्रलाई स्थानीय स्तरमा वृक्षरोपण गरी सघन तवरले संरक्षण र सम्बद्र्धन गर्नुपर्ने आवश्यक देखिन्छ ।’
गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका एनपी साउँद र बहादुरसिंह थापा स्थानीय लालबहादुर कुँवरको घरमा पुगे । कुँवरले चुनावको बेला सम्झिँदै भने, ‘अतिक्रमण गर्ने दलबहादुरजी कांग्रेसकै नेता हुन्, एनपी र बहादुरजी आएपछि दलबहादुरले अतिक्रमण हटाउँछु भनेको हो । बहादुर थापा पनि सँगै थिए । मेरै घरमा बैठक बसेको हो, भोट देऊ, हामी तुरुन्तै हटाउँछौ भनेका हुन् । चुनाव जितेर गएपछि अतिक्रमण हटाउने कुरै छैन । आजकल ठीक छ ठीक छ भन्छन्, बहादुर थापा आउँछु भन्छन् । हेलचक्र्याइँ गरेको छ । हामी ढाँटियौं, राजनीति लाग्यो यसमा ।’
अतिक्रमण हटाउने प्रतिबद्धता गरेपछि मन्त्री साउँदले सोधेका छन्, ‘चित्त बुझ्यो कि बुझेन ?’ उतिबेला मतदाताको चित्त बुझाई भोट मागेका साउँद यतिबेला मतदाताको चित्त दुखाइरहेका छन् ।
जिल्ला प्रशासन र अख्तियारमा निवेदन दिँदा पनि कतैबाट केही नभएको उनले बताए । अतिक्रमण हटाउने आवाज उठाउनेलाई अहिले धम्क्याउने र डराउने गरिएको छ । चुनावका बेला गरेका प्रतिबद्धता चुनाव जित्ने फन्डा मात्रै रहेको देखिएको छ ।
चुनाव जितेका प्रदेशसभा सदस्य बहादुरसिंह थापाले अतिक्रमण हटाउन सम्बन्धित निकायलाई भनिसकेको प्रतिक्रिया दिए । ‘हामीले भन्या छौं, सम्बन्धित निकायलाई भनिराखेकै छौं,’ उनले भने, ‘अब वार्डेनलाई भन्नुपर्यो नि ! कानूनलाई हामीले भनिसकेका छौं । अझ पनि भनिदिउला ।’
चुनावका बेला बोलेको कुरा पूरा भएन नि भन्ने प्रश्नमा उनले भने, ‘हामी ग्यारेन्टी लिन सक्दैनौं । कानूनले हटाउनुपर्यो । व्यक्तिगत रूपमा हामी जिम्मेवारी लिन सक्दैनौं । यसपछि पनि कानूनी उपचार गर्ने कुरा गर्नेछौं ।’ बोलेका कतिपय कुरा एकैचोटी पूरा नहुने उनले बताए ।
सरकारी जग्गा अतिक्रमण भएको विषयमा स्थानीयले आवाज उठाइराख्दा सरकारी निकायबाटै सुनुवाइ भइरहेको छैन । सरकारी र सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्वतः सरकारी निकायकै कर्तव्यभित्र पर्छ । सरकारी निकायका पदाधिकारीले अतिक्रमण नहटाएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयमा पुर्याउँदा समेत अख्तियार हेरेको हेर्यै छ । अतिक्रमण हट्ने र हटाउने छाँटकाँट कतैबाट नदेखिएको स्थानीयको गुनासो छ ।
चुनावका बेला उम्मेदवारहरू एनपी साउँद र बहादुरसिंह थापाले बोलेका कुरा सुन्नुहोस् –