उपकरण खरिद प्रक्रियामा कमी–कमजोरी भएको संसदीय समितिको ठहर, सचेत गराउने निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले उपकरण खरिद प्रक्रियामा कमी–कमजोरी गरेको ठहर गरेको छ ।

उपकरण खरिदका लागि केन्द्रले निर्धारण गरेको विशेषता र मापदण्ड कुनै एक कम्पनीका उपकरणसँग मिल्न गएको भन्दै संसदीय समितिमा उजुरी परेको थियो । उजुरीमाथि छानबिन गर्दै संसदीय समितिले कमी–कमजोरी भएको ठहर गर्दै मंगलबारको बैठकले आइन्दा कमजोरी नदोहोर्‍याउन सचेत गराउने निर्णय  गरेको छ ।

संसदीय समितिले छानबिन गरिरहेकै बेला केन्द्रले उपकरण खरिद सम्बन्धी बोलपत्र रद्द गरिसकेको छ । बोलपत्र रद्द गरिसकेकाले कमीकमजोरी नदोहोर्‍याउन आपूर्ति व्यवस्थापन केन्द्रलाई सचेत गराउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सभापति हिरा सार्कीले जानकारी दिए ।

उपकरण खरिद सम्बन्धी बोलपत्रमा छानबिन गर्न समितिले विज्ञ सम्मिलित छानबिन समिति बनाएर अध्ययन गरेको थियो । छानबिनमा पनि बोलपत्र प्रक्रियामा कमी–कमजोरी भएको देखिएको जनाइएको छ । छानबिनपछि समितिले छलफलका लागि केन्द्रका निमित्त निर्देशक डा. निरज अर्याललाई बैठकमा बोलाएको थियो ।

‘बोलपत्र रद्द गरिसकेकाले अहिले थप केही भएन, आइन्दा कमी–कमजोरी नदोहोर्‍याउन सचेत गराउने निर्णय भएको छ,’ सभापति सार्कीले भने ।

केन्द्रका निमित्त निर्देशक डा. अर्यालले समितिले सोधेका प्रश्नको लिखित जवाफ समितिमै पेश गरेको बताउँदै थप जानकारी दिन चाहेनन् ।

उपकरण खरिदमा मिलेमतो हुनसक्नेतर्फ संकेत गर्दै यसअघि राम्रोन्युज डट्कमले समाचार प्रकाशित गरेको थियो । राम्रोन्युज डट्कमले असोज १० गते ‘स्वास्थ्य उपकरण खरिदमा ‘सेटिङ’को गन्ध ! ६ करोड बराबरको टेन्डर मापदण्डमा यस्तो चलखेल’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । समाचारमा बोलपत्रमार्फत खरिद गर्न खोजिएका उपकरणका लागि निर्धारित विशेषता र मापदण्डहरू कुनै एक कम्पनीका उपकरणका विशेषतासँग मिल्ने गरी राखिएको उल्लेख थियो । ‘हेमाटोलोजी एनालाइजर’का लागि निर्धारित विशेषता जर्मनी कम्पनी ह्युमनका उपकरणसँग मिल्न गएको देखिएको थियो ।

समाचारमा उल्लेख थियो, ‘थ्री पार्ट मशिनको विशेषता जर्मनी कम्पनी ह्युमनको मोडल नम्बर ‘ह्युमाकाउन्ट ८० टीएस’सँग ठ्याक्कै मिल्छ । फाइभ पार्ट मशिनको विशेषता जर्मनी कम्पनी ह्युमनको मोडल नम्बर ‘ह्युमाकाउन्ट ५डी’सँग ठ्याक्कै मिल्छ ।’

पढ्नुहोस् समाचार – स्वास्थ्य उपकरण खरिदमा ‘सेटिङ’को गन्ध ! ६ करोड बराबरको टेन्डर मापदण्डमा यस्तो चलखेल

समाचार प्रकाशित भएपछि र संसदीय समितिमा छानबिन अगाडि बढेपछि केन्द्रले बोलपत्र रद्द गरेको थियो । बोलपत्र रद्द हुनुको कारणबारे केन्द्रले सार्वजनिक सूचना केही जानकारी दिएको छैन ।

पढनुहोस् समाचार – करोडौंको ‘सेटिङ’ पर्दाफास भएपछि बोलपत्र रद्द, चलखेल चक्नाचुर !

सम्बन्धित
Loading...