धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले उपकरण खरिदका लागि आह्वान गरेको बोलपत्रसँग सम्बन्धित समाचारप्रति केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले खण्डन पठाएका छन् ।
प्रेस काउन्सिल नेपालमार्फत प्राप्त खण्डनमा निमित्त निर्देशक डा. अर्यालले समाचारलाई भ्रामक र तथ्यहिन भनेर दाबी गरेका छन् तर समाचारमा तथ्य–प्रमाण संलग्न गरिएको थियो ।
राम्रोन्युज डट्कमले असोज १० गते ‘स्वास्थ्य उपकरण खरिदमा ‘सेटिङ’को गन्ध ! ६ करोड बराबरको टेन्डर मापदण्डमा यस्तो चलखेल’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । समाचारमा बोलपत्रमार्फत खरिद गर्न खोजिएका उपकरणका लागि निर्धारित विशेषता र मापदण्डहरू कुनै एक कम्पनीका उपकरणका विशेषतासँग मिल्ने गरी राखिएको उल्लेख थियो । ‘हेमाटोलोजी एनालाइजर’का लागि निर्धारित विशेषता जर्मनी कम्पनी ह्युमनका उपकरणसँग मिल्न गएको देखिएको थियो ।
समाचारमा उल्लेख थियो, ‘थ्री पार्ट मशिनको विशेषता जर्मनी कम्पनी ह्युमनको मोडल नम्बर ‘ह्युमाकाउन्ट ८० टीएस’सँग ठ्याक्कै मिल्छ । फाइभ पार्ट मशिनको विशेषता जर्मनी कम्पनी ह्युमनको मोडल नम्बर ‘ह्युमाकाउन्ट ५डी’सँग ठ्याक्कै मिल्छ ।’
पढ्नुहोस् समाचार –
‘स्वास्थ्य उपकरण खरिदमा ‘सेटिङ’को गन्ध ! ६ करोड बराबरको टेन्डर मापदण्डमा यस्तो चलखेल’
‘सेटिङ’ सम्बन्धी समाचार प्रकाशित भएपछि सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिमा उजुरी परेको थियो । उजुरीमाथि छलफल गर्दै समितिले खरिद प्रक्रिया रोक्न आपूर्ति केन्द्रलाई निर्देशन समेत दिएको थियो । समितिले खरिद प्रक्रियामाथि छानबिन समेत गरिरहेको छ ।
खरिद प्रक्रियामा देखिएको कैफियत पर्दाफास भएपछि आपूर्ति केन्द्रले नै असोज २१ गतेको निर्णयबाट बोलपत्र रद्द गरेको छ । बोलपत्र रद्द हुनुको खास कारणबारे न त सूचनामा उल्लेख छ, न त डा. अर्यालले पठाएको खण्डनमा नै लेखिएको छ । पढ्नुहोस् बोलपत्र रद्द सम्बन्धी सूचना –
बोलपत्र रद्द भएपछि डा. अर्यालले प्रेस काउन्सिलमा उजुरी गर्दै कारवाहीको माग समेत गरेका छन् । प्रेस काउन्सिलमार्फत प्राप्त खण्डनमा उनले समाचारबाट आमजनमानसमा भ्रामक र तथ्यहिन सूचना सम्प्रेषण हुन गएको दाबी गरेका छन् । उनले समाचार शीर्षकप्रति असहमति प्रकट गरेका छन् । कार्यालय प्रमुखको अनुमति विना समाचारमा फोटो राखिएकोप्रति समेत उनको आपत्ति छ । ई–टेन्डरमार्फत प्रचलित कानून बमोजिम पर्ने खरिद ऐन र नियमावलीअन्तर्गत रही उपकरण खरिद प्रक्रिया अपनाइएको उनको दाबी छ ।
कार्यालय प्रमुख र कार्यालयसँग यथेष्ट सूचना माग नगरी एकतर्फी रूपमा कार्यालय प्रमुख र कार्यालयको मानमर्दन गर्ने नियतले बारम्बार भ्रामक र तथ्यहिन समाचार प्रकाशन भएको भन्दै उनले खण्डन गरेका छन् ।
यस्तो छ डा. अर्यालले पठाएको खण्डन –
समाचारमा सार्वजनिक रूपमै उल्लेख भएका केही तथ्यलाई भने उनले नजरअन्दाज गर्दै खण्डन गरेका छैनन् । समाचारमा उठाइएका तर उनले पठाएको खण्डनमा समावेश नभएका केही अनुत्तरित प्रश्नहरू बाँकी नै छन् –
१. खरिद प्रक्रियालाई अधिकतम प्रतिस्पर्धात्मक बनाउनुपर्नेमा जर्मनी कम्पनी ह्युमनसँग मिल्ने गरी बोलपत्रमा उपकरणको विशेषता र मापदण्ड समावेश गरेर प्रतिस्पर्धालाई संकुचित किन गरियो ?
२. बोलपत्रमा संशोधन गर्न सकिने मापदण्डहरू संशोधन गरिएका भनी कार्यालय प्रमुखले दाबी गरे पनि अन्तिममा बोलपत्र नै रद्द किन गरियो ? खरिद प्रक्रियामा कुनै कैफियत नभएको भए अन्तिममा आएर के कारणले बोलपत्र रद्द गरियो ?
उपलब्ध तथ्यहरू समाचारमा समावेश गरिएको अवस्थामा पनि तथ्यहिन समाचार भनेर कार्यालय प्रमुखले आरोप लगाइरहँदा मुख्य तथ्यहरूलाई बेवास्ता गरेर खण्डन पठाइएको छ । थुप्रै प्रक्रिया पूरा गरेर अन्तिम चरणमा पुगेको बेला बोलपत्र किन रद्द गरियो भन्ने मुख्य तथ्यलाई नै नजरअन्दाज गरेर खण्डन पठाइएको छ ।
समाचार प्रकाशित गर्दासम्म सुदूरपश्चिम प्रदेश सरकारले डा. अर्याललाई पदमुक्त गर्ने निर्णय गरिसकेको छ । उपकरण खरिद प्रक्रिया विवादित भएपछि संसदीय समितिले उनलाई पदमुक्त गर्न निर्देशन दिएको थियो ।
उपकरण खरिद प्रक्रियामा कमी–कमजोरी भएको संसदीय समितिको ठहर, सचेत गराउने निर्णय
समाचार प्रभाव : करोडौंको ‘सेटिङ’ पर्दाफास भएपछि बोलपत्र रद्द, चलखेल चक्नाचुर !