मुख्यमन्त्रीले चाहेर मात्रै राजधानी सर्दैन, गोदावरी नै हुन्छ : माओवादी नेता भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीले चाहेर मात्रै राजधानी नसर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल बैतडीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले राजधानी प्रदेश सभाको अधिकारको विषय भएकाले प्रदेश सभाले अर्काे निर्णय नगरेसम्म राजधानी गोदावरीमै बन्ने स्पष्ट पारे ।

‘राजधानी गोदावरी नै हो, अहिलेको सभाले अर्को निर्णय नगर्दासम्म गोदावरी प्रस्तावित राजधानीको रूपमा छ, प्रदेश सभाले नयाँ राजधानी राख्न चाहे नयाँ ठाउँमा पनि जान सक्छ, त्यो प्रदेश सभाको अधिकारको कुरा हो, नयाँ ठाउँ सार्ने जसरी चर्चा चलेको छ, त्यो होइन,’ उनले भने ।

नेता भट्ट माओवादी पार्टीले सञ्चालन गरेको विशेष रूपान्तरण अभियानको आवधिक समीक्षा बैठकमा सहभागी हुन बैतडी पुगेका हुन् । मुख्यमन्त्री वा कुनै दलका नेताले चाहेर राजधानी नसर्ने उनले बताए ।

गत महिना डडेल्धुरामा आयोजित पत्रकार कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले राजधानीको विकल्प खोज्न सकिने अभिव्यक्ति दिएका थिए ।

लामो समयसम्म प्रदेश राजधानीको विषय टुंग्याउन नसक्नु लाजमर्दो कुरा भएको उनले बताए । ‘छिटोभन्दा छिटो प्रदेशसभा, सबै राजनीतिक दल र सरोकारवाला पक्षलाई विश्वासमा लिएर राजधानी निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने ।

सम्बन्धित
Loading...