धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले दल नेता फेर्दा प्रदेश सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसलाई धक्का पुग्ने देखिएको छ ।
शुक्रबार माओवादीका बहुमत प्रदेशसभा सदस्यको बैठकले दल नेता खगराज भट्टलाई हटाएर प्रमुख सचेतक मानबहादुर धामीलाई दल नेता बनाएको छ । दल नेता परिवर्तनको निर्णय प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ ।
माओवादीभित्र लामो समयदेखि भट्टविरुद्ध असन्तुष्टि रहे पनि राष्ट्रियसभा निर्वाचन सकिएको भोलिपल्टै निर्णय गरिएको छ । दल नेता फेर्नेबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हप्तौंअघि छलफल गरिए पनि उनले राष्ट्रियसभा चुनावसम्म पर्खिन निर्देशन गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँगको सल्लाहअनुसार बहुमत सांसदहरूले चुनाव सकिएको भोलिपल्टै दल नेता फेरेका छन् ।
माओवादी स्रोतका अनुसार तत्कालीन दल नेता भट्ट नेपाली कांग्रेसका दल नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहका ‘एस म्यान’ थिए । आलोपालो मुख्यमन्त्री बन्ने सहमतिअनुसार भावी मुख्यमन्त्री बन्ने लोभमा भट्टले कांग्रेसको एकल स्वार्थअनुसार मौन समर्थन गरेर चुपचाप बस्ने गरेको आरोप छ । अब कांग्रेसले एकलौटी गर्न नपाउँदा धक्का लाग्ने बताइएको छ ।
प्रदेश सरकारबाट हुने नियुक्ति, भागबण्डा र सरुवा बढुवामा कांग्रेसले एकलौटी गरेकोप्रति माओवादीभित्र असन्तुष्टि चुलिएको थियो । ‘दलीय हैसियतअनुसार माओवादीले प्रस्तुत हुन सकेको थिएन, दल चल्न सकेको थिएन । जनताका विषय डिल गर्न सकिएका थिएनन् । माओवादीको एजेन्डा स्थापित हुन सकेको थिएन,’ प्रदेशसभा सदस्य ओमविक्रम भाट ‘सरल’ले भने, ‘अब पुरानै ढर्राले चल्दैन । माओवादीले प्रदेश सरकार भएको र माओवादीले काम गरेको देखिनेछ ।’
दल नेता परिवर्तन हुँदैमा गठबन्धनमा कुनै फरक नपर्ने बताए । ‘हाम्रो गठबन्धन पुरानै हो, गठबन्धनमा केही असर गर्दैन तर काम गर्ने शैली परिवर्तन हुन्छ,’ उनले भने, ‘गठबन्धनको साझा कार्यक्रमअनुसार जानुपर्छ, एकलौटी हुँदैन ।’
अब मुख्यमन्त्री शाहले नियुक्ति, सरुवा बढुवा र बजेट बाँडफाँटमा गठबन्धन दलहरूसँग पनि सल्लाह गर्नुपर्ने माओवादीको माग छ ।
पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले प्रभावकारी कार्यसम्पादन गर्न नसकेको गुनासो समेत माओवादीभित्र छ । सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित ११ सांसद छन् । जसमध्ये ६ सांसद नेता धामीको पक्षमा खुलेपछि भट्ट अल्पमतमा परेका थिए । शुक्रबार दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बहुमत सांसदहरूको बैठक बसेर भट्टलाई हटाएर धामीलाई दल नेता बनाउने निर्णय गरिएको छ ।
बैठकमा सांसदहरू धामी, रावल, शिवसिंह ओली, ओमविक्रम भाट, गीतादेवी माल र लक्ष्मी विक सहभागी थिए । माल प्रदेश सरकारमा राज्यमन्त्री छिन् ।
माओवादीबाट सामाजिक विकास मन्त्री झपटबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी सरकारमा सहभागी छन् । दल नेता फेरिएसँगै अब प्रदेश सरकारमा माओवादीले मन्त्रीहरू पनि फेर्ने तयारी गरेको छ ।