समाचार प्रभाव : करोडौंको ‘सेटिङ’ पर्दाफास भएपछि बोलपत्र रद्द, चलखेल चक्नाचुर !

धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीको विवादित खरिद प्रक्रिया रद्द भएको छ ।

केन्द्रले सोमबार नयाँ पत्रिका दैनिकमा सूचना प्रकाशित गरी खरिद प्रक्रिया सम्बन्धी बोलपत्र रद्द गरिएको जानकारी दिएको छ । २०८० भदौ १९ गतेको सूचनाबाट आह्वान भएको बोलपत्रको ३ वटै प्याकेजको खरिद रद्द गरिएको छ ।

यस्तो छ बोलपत्र रद्दको सूचना –

भदौ १९ गतेको सूचनाअनुसार केन्द्रले प्याकेज–१ अन्तर्गत झण्डै ६ करोड, प्याकेज–२ अन्तर्गत झण्डै १ करोड १२ लाख र प्याकेज–३ अन्तर्गत झण्डै २ करोड ६० लाख रुपैयाँका उपकरण खरिद प्रक्रिया थालेको थियो ।

यस्तो थियो बोलपत्र आह्वानको सूचना –

बोलपत्रमा आपूर्तिकर्ताका लागि तोकिएको मापदण्ड र विशेषतामा सेटिङ मिलाएको देखिएपछि राम्रोन्युज डट्कमले समाचार प्रकाशित गरेको थियो ।

पढ्नुहोस् समाचार –
स्वास्थ्य उपकरण खरिदमा ‘सेटिङ’को गन्ध ! ६ करोड बराबरको टेन्डर मापदण्डमा यस्तो चलखेल

राम्रोन्युज डट्कममा समाचार प्रकाशित भएपछि प्रदेश सभाको सामाजिक विकास समितिमा समेत उजुरी परेको थियो । संसदीय समितिले खरिद प्रक्रियामाथि छानबिन गरिरहेका बेला केन्द्रले सूचना निकालेर बोलपत्र रद्द गरेको छ । संसदीय समितिले बोलपत्र सम्बन्धी सबै कागजात झिकाएर अध्ययन गरिरहेको छ ।

खरिदका क्रममा कुनै अमुक आपूर्तिकर्तालाई मात्रै सहज हुने गरी मापदण्ड र विशेषता राखेर सेटिङ मिलाई कमिसन खाने चलखेल गर्न खोजेको आरोप लागेको थियो । विवादित बोलपत्र अन्ततः रद्द गरेको छ । केही व्यक्तिहरूको सेटिङ र चलखेलको चक्करमा पर्दा सार्वजनिक खरिद प्रक्रिया नै अवरुद्ध भएको देखिएको छ ।

खरिद समितिका संयोजक तथा फार्मेसी निरीक्षक जयन्द्र बोगटीले सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ र बोलपत्र सम्बन्धी कागजातको आईटीबी नम्बर ३९ अनुसार बोलपत्र रद्द गरिएको जानकारी दिए । बोलपत्र रद्द हुनुको कारण बताउँदै उनले भने, ‘बोलपत्र विवादित भएको हिसाबले र सामाजिक विकास समितिबाट प्रक्रिया स्थगित गर्न निर्देशन आयो, त्यही भएर रद्द गर्‍यौं ।’

ठूलो मात्रामा उपकरण खरिद गर्दा आपूर्ति केन्द्रसँग भण्डारण क्षमता नभएको पनि उनले बताए । ‘उपकरण खरिद गरेपछि कुन–कुन स्थानीय तह वा अस्पतालमा पठाउने भन्ने यकिन भइसकेको छैन, हामीसँग भण्डारण क्षमता पनि छैन,’ उनले भने, ‘यस विषयमा हामीले पहिल्यै ख्याल गर्नुपर्ने थियो, प्राविधिक त्रुटि भएकै हो ।’

सम्बन्धित
Loading...