स्वास्थ्य आपूर्ति केन्द्रको शंकास्पद खरिद प्रक्रिया रोक्न निर्देशन, १७ गते थप छलफल गरिने

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले अगाडि बढाएको स्वास्थ्य उपकरण खरिद प्रक्रिया रोक्न निर्देशन दिने निर्णय गरेको छ ।

मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाएर राज्यलाई घाटा पुर्‍याउन खोजेको भन्ने उजुरीका आधारमा आईतबार बसेको समितिको बैठकले खरिद प्रक्रिया रोक्न निर्देशन दिने निर्णय गरेको समितिका सदस्य तथा प्रदेशसभा सांसद ओमविक्रम भाटले जानकारी दिए ।

विवादित खरिद प्रक्रियाबारे छलफल गर्न सम्बन्धित पक्षलाई असोज १७ गते छलफलका लागि बोलाउने निर्णय भएको समितिका सभापति हिरा सार्कीले जानकारी दिए । आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. निरज अर्याल समेतलाई समितिको बैठकमा बोलाएर खरिद प्रक्रियाबारे छलफल गरिनेछ ।

केन्द्रले भदौ १८ र १९ गते छुट्टाछुट्टै सूचना प्रकाशित गरी उपकरण खरिद प्रक्रिया अगाडि बढाएको छ । उपकरण खरिदमा राखिएका विशेषता र मापदण्ड कुनै १ कम्पनीसँग मात्रै मिलेको भन्दै आपूर्तिकर्ताहरूले संशोधन दर्ता गराएका थिए ।

सांसद भाटले भने, ‘उपकरण खरिद सम्बन्धी उजुरी परेको थियो । सो सम्बन्धमा के कसो भएको हो भनेर छानबिन गर्ने र खरिद प्रक्रिया तत्काल स्थगन गर्न निर्देशन दिने निर्णय भएको छ ।’ असोज १७ गते ११ बजेभित्र सम्पूर्ण कागजात झिकाएर अध्ययन र छलफल गर्ने निर्णय समेत भएको उनले बताए ।

खरिद प्रक्रियामा ‘सेटिङको गन्ध’ सम्बन्धमा राम्रोन्युज डट्कमले यसअघि नै समाचार प्रकाशित गरिसकेको छ । पढ्नुहोस् समाचार –

स्वास्थ्य उपकरण खरिदमा ‘सेटिङ’को गन्ध ! ६ करोड बराबरको टेन्डर मापदण्डमा यस्तो चलखेल

साथै समितिको बैठकले सरकारी अस्पतालको सेवा, गुणस्तर, समस्या र समाधानका विषयमा अन्तक्र्रिया गर्ने निर्णय पनि गरेको छ । समितिले असोज १८ गते महाकाली प्रादेशिक अस्पताल, असोज १९ गते सेती प्रादेशिक अस्पताल र असोज २१ गते टीकापुर अस्पतालमा अनुगमन र अन्तक्र्रिया गर्ने भएको छ ।

सम्बन्धित
Loading...