धनगढी । २०७८ फागुनमा भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार थिए तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी ‘सन्तोष’ । बहालवाला मन्त्री भएको ‘पावर’ हुँदाहुँदै पनि सन्तोष अध्यक्षको चुनावमा पराजित भए ।
प्रदेश सरकारका मन्त्री सन्तोषलाई पराजित गर्दै राष्ट्रियसभा सदस्य हरि चौधरी ‘उत्सव’ प्रदेश अध्यक्ष बनेका थिए । चुनावमा उत्सवले ११४ मत ल्याउँदा सन्तोषले ९३ मत मात्रै पाएका थिए ।
पार्टीको चुनाव हारे पनि सन्तोषले पछिल्लो प्रदेशसभा चुनावमा दार्चुलाबाट जिते । उनी प्रदेशसभा सदस्य हुँदै प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक समेत बने । यसपालि सरकार गठन हुँदा मन्त्री बन्ने दौडमा सन्तोष पनि थिए तर उनी मन्त्री बन्न पाएनन् ।
पछिल्लोपटक सरकारमा मन्त्री नबनेका सन्तोषको राजनीतिले यतिबेला कोल्टे फेरेको छ । अब उनी मन्त्री बनाउने जिम्मेवारी संसदीय दलको नेता बनेका छन् । दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यको बैठकले दल नेता खगराज भट्टलाई हटाएर सन्तोषलाई दल नेता चयन गरेको छ । दल नेता परिवर्तनको निर्णय प्रदेशसभा सचिवालयमा पुगिसकेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित ११ सांसद छन् । जसमध्ये ६ सांसद नेता धामीको पक्षमा खुलेपछि भट्ट अल्पमतमा परेका हुन् । धामीलाई दल नेता बनाउने बैठकमा सांसदहरू धामी, रावल, शिवसिंह ओली, ओमविक्रम भाट, गीतादेवी माल र लक्ष्मी विक सहभागी थिए । माल प्रदेश सरकारमा वन राज्यमन्त्री छिन् ।
माओवादीभित्र लामो समयदेखि भट्टविरुद्ध असन्तुष्टि रहे पनि राष्ट्रियसभा निर्वाचन सकिएको भोलिपल्टै निर्णय गरिएको छ । दल नेता फेर्नेबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हप्तौंअघि छलफल गरिए पनि उनले राष्ट्रियसभा चुनावसम्म पर्खिन निर्देशन गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँगको सल्लाहअनुसार बहुमत सांसदहरूले चुनाव सकिएको भोलिपल्टै दल नेता फेरेका छन् ।
माओवादी स्रोतका अनुसार तत्कालीन दल नेता भट्ट नेपाली कांग्रेसका दल नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहका ‘एस म्यान’ थिए । आलोपालो मुख्यमन्त्री बन्ने सहमतिअनुसार भावी मुख्यमन्त्री बन्ने लोभमा भट्टले कांग्रेसको एकल स्वार्थअनुसार मौन समर्थन गरेर चुपचाप बस्ने गरेको आरोप छ ।
प्रदेश सरकारबाट हुने नियुक्ति, भागबण्डा र सरुवा बढुवामा कांग्रेसले एकलौटी गरेकोप्रति माओवादीभित्र असन्तुष्टि चुलिएको थियो ।
माओवादीले अब दलीय हैसियतअनुसार सरकारमा भागबण्डा खोज्ने भएको छ । अब मुख्यमन्त्री शाहले नियुक्ति, सरुवा बढुवा र बजेट बाँडफाँटमा गठबन्धन दलहरूसँग पनि सल्लाह गर्नुपर्ने माओवादीको माग छ ।
पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले प्रभावकारी कार्यसम्पादन गर्न नसकेको गुनासो समेत माओवादीभित्र छ । माओवादीबाट सामाजिक विकास मन्त्री झपटबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी सरकारमा सहभागी छन् । दल नेता फेरिएसँगै अब प्रदेश सरकारमा माओवादीले मन्त्रीहरू पनि फेर्ने तयारी हुने स्रोतले जनाएको छ ।
मुख्यमन्त्री बन्ने बाटो खुल्यो !
सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकार चलाउने सहमति छ । सहमतिअनुसार कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । दोस्रो चरणमा मुख्यमन्त्री बन्ने पालो माओवादीको आउनेछ ।
यसअघि तत्कालीन दल नेता खगराज भट्टलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको थियो । तर दल नेताबाट हटेपछि अब उनी मुख्यमन्त्री बन्ने सम्भावना लगभग सकिएको बताइन्छ । संसदीय राजनीतिमा दल नेता शक्तिशाली हुने र दल नेताले नै सरकारको नेतृत्व गर्ने अभ्यास हुँदै आएको छ । माओवादीको मुख्यमन्त्री बन्ने पालोमा दल नेता सन्तोष नै मुख्यमन्त्री बन्ने बाटो खुलेको स्रोतले जनाएको छ ।
प्रदेशसभा चुनावका बेला डडेल्धुराबाट चुनाव लडेका खगराज भट्टलाई मुख्यमन्त्री बनाउने वाचा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदातामाझ गरेका थिए । तर देउवाले पहिलो चरणमा खगराजलाई नभई कांग्रेसकै कमलबहादुरलाई मुख्यमन्त्री बनाए । मुख्यमन्त्री बन्न दोस्रो चरण पर्खिरहेका बेला खगराज दल नेताबाटै हटाइएपछि देउवाले मतदातामाझ गरेको वाचा के हुने भन्ने प्रश्न उब्जिएको छ ।
माओवादी दल नेता परिवर्तन गरिएकोप्रति पार्टीभित्र असन्तुष्टि पनि देखिएको छ । पार्टी प्रदेश समिति सचिव जनकबहादुर बुढाले सामाजिक सञ्जालमार्फत कार्यकर्तामा निराशा र आक्रोश पैदा भएको जनाएका छन् ।
उनले फेसबूकमा लेखेका छन्, ‘केही व्यक्तिहरूलाई क्षणिक आनन्द त आएको होला तर तिम्रो निर्णयले हजारौं कार्यकर्ताहरूमा निराशा र आक्रोश मात्रै पैदा भएको छ । यो निर्णयले तत्काल केहीलाई क्षणिक लाभ भए पनि अन्ततः सबैले वर्षौं पछुताउनुपर्ने मात्रै हुनेछ । आफैं चढेको डुंगामा आफैंले प्वाल पार्नु बुद्धिमतापूर्ण कार्य हो भनेर कसरी भन्न सक्छु र कमरेड ? डुंगामा प्वाल पारेपछि करीब–करीब सबै डुब्ने खतरा हुँदैन होला र महासय ?’