महेन्द्रनगर । चुनावका बेला आरक्ष पीडितको माग पूरा गर्छु भनेर वाचा गरेका कञ्चनपुरको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद तथा परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउँदले निर्दयी पारा देखाएका छन् ।
आफ्नै निर्वाचन क्षेत्रका आरक्ष पीडित मतदाताहरू आन्दोलित भई काठमाडौंको माइतीघर मण्डलामा भोक हड्तालमा रहेका बेला मन्त्री साउँद अमेरिका प्रस्थान गरेका छन् ।
परराष्ट्रमन्त्री साउँद मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिकाको न्युयोक प्रस्थान गरेका छन् तर उनको क्षेत्रका मतदाता वर्षाैंदेखिको पीडाको समाधान गर्न माग गर्दै माइतीघरमा भोक हड्ताल गरिरहेका छन् । मन्त्री साउँदले घरमा प्रवेश निषेध गरेर भेटघाट नै नदिएपछि आरक्ष पीडितले भोक हड्ताल थालेका हुन् ।
शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टले भोक हड्ताल गरिरहेका छन् । आज मंगलबार भोक हड्तालको दोस्रो दिन पूरा भएको छ ।
भोक हड्तालमा बस्दा पनि सरकारले कुनै सुनुवाइ नगरेपछि अब आरक्ष पीडितले सडक संघर्ष पनि थाल्ने भएका छन् । सडक संघर्षमा साथ दिन संघर्ष समितिका सचिव भट्टले सबैमा अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज अनसनको दोस्रो दिन, हाम्रो लडाइँ जारी नै छ । म लगायत केही पीडित हामी राजधानीको माइतीघर मण्डलामा भोक हड्तालमा बसेको सबैमा जानकारी नै छ । हाम्रो यो लडाइँ अन्तिम हुनेछ र न्याय लिएर नै फर्किनु छ, नभए हाम्रो भौतिक र शारीरिक क्षति भएमा स्वयं सरकार जवाफदेही हुनेछ । भोलि मिति २०८०/०५/२७ गते कञ्चनपुरको महेन्द्र राजमार्ग अन्तर्गत वाणी–बनहरा बीचमा सडक आन्दोलन हुने हुँदा सम्पूर्ण आरक्ष पीडितलाई सहयोग र साथ दिनुहुनेले बिहानको १० बजे उपस्थितिका लागि सबैमा अनुरोध गर्दछु । आन्दोलनलाई शान्तिपूर्ण ढंगले सरकारलाई दबाब दिनुहोला । हातपात, झैझगडा कोही कसैले पनि नगराउन, नगर्न हुन पनि विनम्र अनुरोध गर्दछु ।’
आरक्ष पीडितको शिविर रहेको बंक क्षेत्र अर्थात् कृष्णपुरको २ नम्बर वडाका अध्यक्ष अर्जुन साउँदले आरक्ष पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोक हड्ताल कार्यक्रममा ऐक्यबद्वता । द्वन्द्वकालीन अवस्थामा राज्यले सेना लगाएर आरक्ष पीडितहरूको जग्गा जंगली जनावर पाल्न साँघुरो भयो भनेर जबरजस्ती खोसेको हो । सरकारले उहाँहरूलाई उचित क्षतिपूर्तिसहित खोसिएको जग्गा, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गर्नुपर्दछ ।’
सरकारले आरक्ष पीडितलाई बेवास्ता गरेपछि आन्दोलन फैलिँदै जाने देखिएको छ । विगत ४ महिनादेखि काठमाडौंमा धाउँदा पनि कुनै सुनुवाइ नभएपछि संघर्ष समितिले भोक हड्तालको आन्दोलन थालेको समितिका अध्यक्ष चन्दले जानकारी दिए ।
मन्त्री एनपीको ‘दरबार’मा आरक्ष पीडितलाई निषेध ! माइतीघरमा भोक हड्ताल गर्ने तयारी
काठमाडौंमा आरक्ष पीडितको भोक हड्ताल, शेरबहादुरले लखेटेको र एनपीले ढाँटेको आरोप