मन्त्री एनपीको ‘दरबार’मा आरक्ष पीडितलाई निषेध ! माइतीघरमा भोक हड्ताल गर्ने तयारी

धनगढी । परराष्ट्रमन्त्री एनपी साउँदको काठमाडौंस्थित घरमा आरक्ष पीडितलाई प्रवेश निषेध गरिएको छ ।

शनिबार बिहान मन्त्री साउँदलाई भेट्ने भैंसेपाटीस्थित घरमा पुग्दा गेटबाट भित्र जान नदिइएको गुनासो आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले गरेका छन् ।

‘आरक्ष पीडितको पुनःस्थापनाको माग गर्दै म ४ महिनादेखि काठमाडौंमा छु । माग पूरा होला भन्ने आशामा बसिरहेको छु । भोलि–भोलि भनेर टार्ने गरिएको छ । आज त मन्त्रीज्यूको दरबारभित्र छिर्नै दिइएन, गेटबाटै फिर्ता पठाइयो,’ अध्यक्ष चन्दले भने ।

२०५८ सालमा कञ्चनपुरका विभिन्न क्षेत्रमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित गरिएका परिवारको हालसम्म पुनःस्थापना हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले थुप्रै गाउँ उठाएर आरक्ष विस्तार गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र आफ्नै क्षेत्रबाट निर्वाचित परराष्ट्रमन्त्री एनपी साउँदले लामो समयसम्म बेवास्ता गरेपछि अब भोक हड्ताल गर्नुपर्ने अवस्था आएको अध्यक्ष चन्दले बताए ।

मन्त्री साउँदको निवासमा प्रवेश निषेध गरिएपछि आक्रोशित भएका अध्यक्ष चन्द लगायत आरक्ष पीडितले आजै दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने जनाएका छन् । भोलि आईतबार राष्ट्रिय मानवअधिकार आयोगमा पीडा पोख्ने र पर्सि सोमबारदेखि माइतीघर मण्डलामा आमरण अनसन बस्ने तयारी रहेको अध्यक्ष चन्दले बताए ।

उनले भने, ‘मन्त्रीज्यूले ४ महिनादेखि हुन लाग्या छ मात्रै भन्ने, अरु जवाफ नदिने । आज हुन्छ, भोलि हुन्छ भन्ने । बुधबार, बिहीबार क्याबिनेटमा जाने भनेको तर केही भएन । प्रधानमन्त्रीलाई भेटेर बधाई दिनुपर्छ र समस्या राख्नुपर्छ भनेर फूलको माला बनाउन लगाइयो, त्यो फूलको माला सुकिसक्यो, अहिलेसम्म प्रधानमन्त्रीलाई भेट्न पाइएन ।’

सरकारले सर्वसाधारणको सम्पत्ति खोसेर आरक्ष विस्तार गरेकाले लामो समयसम्म पुनःस्थापना नगरी अलपत्र पारेको अध्यक्ष चन्दको गुनासो छ । ‘सरकारले मेरो सम्पत्ति खोसेको हो, मैले रक्सी, जुवा खेलेर सिध्याएको होइन,’ उनले भने, ‘सरकारले मेरो सम्पत्ति फिर्ता गर्नुपर्छ ।’

समस्या समाधानका लागि विभिन्न आयोग गठन गरिए पनि समस्या समाधान हुन सकेको छैन । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि आरक्ष पीडित समस्या समाधान गर्ने भनेर भोट मागेका मन्त्री साउँदले अहिले समस्यालाई बेवास्ता गरिरहेको पीडितको गुनासो छ ।

आरक्ष पीडितको गुनासोबारे बुझ्न मन्त्री साउँद र उनका स्वकीय सचिव दिपक जोशीलाई फोन गर्दा फोन उठेन ।

सम्बन्धित
Loading...