धनगढी । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका पीडितको तर्फबाट आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीले माइतीघर मण्डलामा थालेको धर्ना कार्यक्रम स्थगित भएको छ ।
सुरुको दिन ‘भोक हड्ताल’ भन्ने ब्यानरमा आन्दोलन थालिए पनि स्थगित हुँदासम्म ब्यानर नै परिवर्तन भएर ‘धर्ना कार्यक्रम २०८०’ नामकरण गरिएको थियो । धर्नामा बसेका संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेम दत्त भट्टले बिहीबारदेखि धर्ना स्थगित गरेका छन् ।
सचिव भट्टले अनसनको चौथो दिनमा सरकार पक्षबाट केही उच्चस्तरीय पदाधिकारीसँग वार्ता भएर असोज २० गतेभित्र समस्या समाधानका लागि सरकारले पूर्ण रूपले काम अगाडि बढाउने जनाएका छन् । धर्नास्थलमा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य बहादुरसिंह थापा देखिएका छन् ।
सांसद थापा कांग्रेसभित्रै कमजोर अवस्थामा छन् । चुनाव प्रचारका बेला मन्त्री एनपी साउँदले थापालाई सुदूरपश्चिमको मुख्यमन्त्री वा उपमुख्यमन्त्री बनाउने वाचा गरेका थिए तर थापा मन्त्री पनि बन्न पाएनन् । आरक्ष पीडितको समस्या संघीय सरकारसँग सम्बन्धित भएकाले प्रदेश सांसदले कति भूमिका खेल्न सक्छन् ? हेर्न बाँकी छ ।
कञ्चनपुरबाट निर्वाचित संघीय सांसद तथा परराष्ट्रमन्त्री एनपी साउँद भने धर्नामा बसेकालाई भेटघाट नै नगरी विदेश गएका थिए । यसअघि पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मन्त्री एनपी साउँदले पटक–पटक १५ दिन, १ महिनामा समस्या समाधान गर्ने बताउँदै आए पनि समस्या ज्युका त्यु छ ।
सचिव भट्टले धर्ना स्थगित गरेपछि सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘असोज १५–२० गतेभित्र हाम्रो समस्यालाई सरकारले पूर्ण रूपले काम अगाडि बढाउने । काम प्रक्रियामा नगए फेरि सरकार स्वयं आफैं माइतीघर मण्डलामा हाम्रो भोक हड्ताललाई पूर्ण समर्थनमा आफैं बस्ने भन्ने अभिव्यक्ति दिएर अहिलेको लागि हाम्रो भोक हड्ताललाई स्थगित गराएर जानुभएको छ, धन्यवाद सरकार पक्षलाई । हाम्रो लडाइँ जारी नै छ । सरकारले समस्या छिटोभन्दा छिटो समाधान गर्छ भन्नेमा हामी पीडित पक्ष केहीसम्म विश्वस्त छौं । साथै हाम्रो आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू सोही समयसम्मका लागि स्थगित भएको पनि जानकारी गराउन चाहन्छु । अन्यथा यो समयमा पनि हाम्रो माग सम्बोधन भएन भने झन् उग्ररूप लिने पनि सरकारलाई चेतावनी दिन चाहन्छु ।’