भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् ।
बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौं भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलःले भदौ महिनादेखि स्थानीय ११ वर्षदेखि ५३ वर्षसम्मका सहभागीलाई प्रशिक्षण प्रदान गरेको थियो ।
कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्यका साथ प्रशिक्षण गरेको सिमल्टार बाँसुरी बाजा खलःले जनाएको छ । आगामी दिनमा पनि खलःले युवाहरूलाई प्रशिक्षण दिँदै लैजाने खलःका सदस्य मोतीराम खाताखोले जानकारी दिए ।
बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमबीच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, सूर्यविनायक नगरपालिका–१० का वडाध्यक्ष शिवराम राउत लगायतले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्दै दीक्षित गरेका थिए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तोसुकै कदम चाल्न पनि तयार भएको बताए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–१० का वडाध्यक्ष शिवराम राउतले अबको वडाको लक्ष्य भनेको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं सर्वधन गर्ने लक्ष्य रहेको हुँदा आर्थिक हिसाबले गर्नुपर्ने बताए ।
प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२०औं स्थानको प्रशिक्षण भएको जानकारी दिए । देशभर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उनले बताए । २०५७ सालबाट बाँसुरी बाजा, पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उनले जानकारी दिए ।
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मानपत्र प्रदान गरिएको थियो ।