दैजीमा औद्योगिक क्षेत्र बनाउन पूर्व सांसद धामीको दौडधूप, छेलामा रुखको लगत लिन सुरु

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ छेलामा औद्योगिक क्षेत्र निर्माणका लागि रोकिएको काम अगाडि बढाउन पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य, कञ्चनपुर २ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज नरबहादुर धामीले दौडधूप थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि औद्योगिक क्षेत्रको काममा सक्रिय भएका पूर्व सांसद धामीले बाँकी रुखको लगत संकलन अगाडि बढाउन अगुवाइ लिएका हुन् ।

२०७७ फागुन १० गते तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको काम उनी पदमुक्त भएपछि रोकिएको थियो । औद्योगिक क्षेत्रका लागि २४०.३४ हेक्टर जमिनमा रहेका रुखको लगत लिनुपर्नेमा डिभिजन वन कार्यालय कञ्चनपुरले हालसम्म २०४.५२ हेक्टर जमिनमा रहेका रुखहरूको लगत संकलन गरिसकेको र बाकी रहेको ३५.८२ हेक्टर जमिनका रुखको लगत लिने काम मंगलबार प्रारम्भ भएको छ । रोकिएको लगत लिने काम अगाडि बढाउन पूर्व सांसद धामीले प्रधानमन्त्री ओली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका प्रबन्ध निर्देशक पदम वली, डिभिजन वन कार्यालय कञ्चनपुरका डीएफओ भीम प्रसाद कंडेलसम्म पहल गरेका थिए ।

नेकपा एमालेका नेता तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीद्वारा २०५१ सालमा औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । तर एमाले नेतृत्वको सरकार लामो समय टिकाउन नसक्दा औद्योगिक क्षेत्रको काम प्रभावित हुँदै आएको पूर्व सांसद धामीले बताए । ‘एमाले सरकारमा आउँदा औद्योगिक क्षेत्रको काम अगाडि बढ्छ, अरु पार्टीले यसलाई अलपत्र पार्छन् । अहिले एमालेको सरकार बनेकाले फेरि काम अगाडि बढेको छ,’ उनले भने ।

छेला औद्योगिक क्षेत्रका काम अगाडि बढाउन पहल गर्दै पूर्व सांसद धामीले साउन ११ गते उद्योगमन्त्री भण्डारी र प्रबन्ध निर्देशक पदम वलीसँग भेटघाट गरेका थिए । त्यसपछि लिमिटेडका प्रतिनिधि हिरण्य उपाध्यायलाई साउन १७ गते कञ्चनपुर पठाइएको थियो ।

पूर्व सांसद धामीले साउन २७ गते डिभिजन वन कार्यालय कञ्चनपुरका डीएफओ भीम प्रसाद कंडेल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रतिनिधि हिरण्य उपाध्याय र रुखहरूको लगत संकलन गर्न फिल्डको जिम्मेवारी पाएका वन अधिकृत अमरसिंह धामीसँग छलफल गरेका थिए । सोही छलफलअनुसार मंगलबारबाट लगत संकलनको काम सुरु भएको छ ।

‘अब औद्योगिक क्षेत्रको काम कहीँकतै नरोकियोस् र चाँडै मूर्त रूप ग्रहण गरोस्,’ उनले भने ।

सम्बन्धित
Loading...