अध्यक्ष अवस्थीको कुशल व्यवस्थापनमा सुधारिँदै जनजागृति मावि, शुक्लाफाँटामै अब्बल

झलारी । २०७९ सालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रको विद्यालय कार्यसम्पादन परीक्षणमा कञ्चनपुरका १०२ विद्यालयमध्ये शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरस्थित श्री जनजागृति मावि ४६.६१ प्राप्तांकका साथ १०२औं स्थानमा थियो । अर्थात् जनजागृति मावि कञ्चनपुरका विद्यालयमध्ये सबैभन्दा कमजोरमा गणना हुँदै पुछारमा थियो ।

यस्तो दर्दनाक अवस्थामा रहेको विद्यालयमा २०७९ असार २३ गते नयाँ विद्यालय व्यवस्थापन समितिले पूर्णता पायो । जसको अध्यक्षमा चयन भए अभिभावक नवराज अवस्थी । त्यसयताका २ वर्षभित्र विद्यालयमा भौतिक पूर्वाधार र गुणस्तरको विकासमा देखिने सुधार भएको छ ।

पछिल्लो विद्यालय शिक्षा परीक्षा (एसईई) र ८ कक्षाको परीक्षाको नतिजामा जनजागृति मावि शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २०८० सालको हालै प्रकाशित एसईईको नतिजामा जनजागृतिले शुक्लाफाँटाभित्र सर्वाधिक ४५.३८% विद्यार्थीलाई उत्तीर्ण गर्न सफल भएको छ । अन्य सामुदायिक विद्यालयले यसभन्दा कम प्रतिशत विद्यार्थी उत्तीर्ण गरेका छन् ।

२०८० सालको ८ कक्षाको नगर स्तरीय परीक्षामा पनि जनजागृतिले ७६.७७% विद्यार्थीलाई उत्तीर्ण गर्दै सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याएको थियो ।

२०८० सालमै भएको हाजिरीजवाफ प्रतियोगितामा पनि जनजागृति मावि प्रथम भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अवस्थीले जानकारी दिए । २०७९ र २०८० सालको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि विद्यालयले विभिन्न पदक जित्दै चौथो स्थान हात पारेको थियो ।

विद्यालयको गुणस्तर र नतिजा सुधारका लागि व्यवस्थापन समितिले नियमित अनुगमन, अभिभावकसँग छलफल, साप्ताहिक परीक्षा र कमजोर विद्यार्थीका लागि थप कक्षा सञ्चालन गरिरहेको अध्यक्ष अवस्थीले बताए । ‘हामी विद्यार्थी र अभिभावकसँग नियमित सम्पर्कमा छौं र विद्यालय सुधारका लागि आवश्यक कार्य गरिरहेका छौं,’ उनले भने, ‘गुणस्तर सुधारमा विद्यार्थी, शिक्षक र अभिभावकज्यूहरूले आवश्यक सहयोग गरिराख्नुभएको छ । सबैको सहयोगबाट नतिजा राम्रो आएको छ ।’ विद्यालयमा मावि तहमा गणित र विज्ञानका २ नयाँ शिक्षक पनि नियुक्त गरिएको छ ।

अध्यक्ष अवस्थी नेतृत्वको व्यवस्थापन समिति बनेयता शैक्षिक पूर्वाधार निर्माणमा पनि प्रगति भएको छ । चालू आर्थिक वर्षमा विज्ञान प्रयोगशाला बनेको र सरस्वती माताको मन्दिर निर्माण कार्य भइरहेको अध्यक्ष अवस्थीले जानकारी दिए । वडा कार्यालयको सहयोगमा खेल मैदान निर्माण, खाजा घर निर्माण, खानेपानीका धारा जडान, वृक्षरोपण कार्य गरिएको छ ।

२ वर्षयता राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ४ कोठे पक्की भवन, बिल्डअन र नगरपालिकाको सहयोगमा ३ कोठे पक्की भवन र शौचालय निर्माण तथा प्रदेश सरकारको सहयोगमा पक्की घेरबार निर्माण कार्य गरिएका छन् ।

‘विभिन्न निकायमा पहल र प्रस्ताव पेश गर्दा भौतिक पूर्वाधारमा पनि सुधार भएको छ । खासगरी वडा कार्यालय र नगरपालिकाबाट विशेष सहयोग छ । विव्यसको योजना र कार्यक्रममा विद्यालय प्रशासन र प्रधानाध्यापकज्यूले पर्याप्त सहयोग गर्नुभएको छ,’ उनले भने, ‘गुणस्तर र भौतिक पूर्वाधारको सुधार पर्याप्त छैन, हामी अझै सुधारका लागि प्रयासरत छौं ।’

Loading...