नेकपा शासनमा बेहाल : कोरोनाका गम्भीर बिरामी घरमै छट्पटाउँदै, अस्पतालले लुकाए शय्या

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शय्या दिन आनाकानी गर्दै खाली शय्या समेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् ।

निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् ।

अस्पतालमा शय्या हुँदाहुँदै पनि अस्पतालले संक्रमितलाई भर्ना गर्न नमान्दा होम आइसोलेसनमा बस्ने गम्भीर संक्रमितको संख्या बढ्दै गएको हो ।

गम्भीर प्रकृतिका संक्रमितसमेत अस्पतालमा बेड नपाएपछि छटपटाउँदै ज्यानै जोखिममा हालेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । अस्पतालले आईसीयू र भेन्टिलेटर भए पनि लुकाउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

दीर्घरोगी र ज्येष्ठ नागरिकहरू जोखिममा रहेका छन् । संक्रमण बढ्दै गएर दीर्घरोगीलाई जटिल समस्या हुँदा समेत अस्पतालले शय्या दिन आनाकानी गर्दै आएका छन् । उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले सावधानी अपनाउन आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै होम आइसोलेसनमा छन् । शनिवार देशभर २५ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रदेश १ मा ४ हजार १ सय २५, प्रदेश २ मा ७ सय ६५, बाग्मती प्रदेशमा १५ हजार ९ सय ९८, गण्डकी प्रदेशमा ९ सय ३०, लुम्बिनी प्रदेशमा २ हजार २ सय ८२, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा ६ सय २१ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार २ सय ९९ छ । प्रदेशअनुसार प्रदेश १ मा ४ हजार १ सय २९, प्रदेश २ मा ६ सय ६४, बाग्मती प्रदेशमा ८ हजार १ सय ९२, गण्डकी प्रदेशमा ७ सय ८१, लुम्बिनी प्रदेशमा १ हजार ७ सय ४९, कर्णाली प्रदेशमा ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ३ सय ८६ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं बानेश्वर बस्दै आएका रुकुम मुसिकोटका ३८ वर्षीय युवकलाई एक्कासि उच्च ज्वरो आयो । आफन्तका अनुसार उनलाई एकदमै कमजोर महसुस भयो । उनलाई गत २७ असोजमा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको थियो । उनी आफन्तसहित वीर अस्पताल पुगे । तर अस्पतालले बेड नभएको प्रतिक्रिया दिएपछि कोठामै बस्न बाध्य भए । उनका आफन्तले भने, ‘के गर्नु अस्पतालले भर्ना गर्दैन ? अब डाक्टरलाई देखाएर कोठामै हेरचाह गर्नुपर्ला ।’

आईसीयू र भेन्टिलेटरमा उपचार गराउनुपर्ने संक्रमितको संख्या बढ्दै गएको छ । शनिबारसम्म देशभर २ सय ९० जना आईसीयू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेशअनुसार आईसीयूमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ५२, प्रदेश १ मा ३४, प्रदेश २ मा १३, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा नौ जना संक्रमित छन् ।

प्रदेश १ मा ९, प्रदेश २ मा १, बाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनअघिको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम अवस्थामा मात्रै अस्पताल जान आग्रह गरेका थिए । कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला केही हप्तायता ह्वात्तै बढेको छ । शनिवार देशभर ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

देशभर संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर ७ सय २७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । शनिवार काठमाडौंमा १ हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित
Loading...