कोरोना धेरै फैलिएपछि दशैंको मुखैमा सेना परिचालन गर्ने निर्णय
काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएको भन्दै दशैंको मुखैमा दार्चुलाको जिल्ला सदरमुकाम खलङ्गामा सेना परिचालन गरिएको छ ।
कोरोना धेरै फैलिएको महाकाली नगरपालिका–४ र ५ को बजार सिल गर्ने निर्णय गरिएको भए पनि व्यापारीले कानूनको उल्लंघन गरेपछि सुरक्षा समितिको बैठकले सेना परिचालनको निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।
सामान्य आह्वानले बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना समेत परिचालन भएको छ । नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी पोखरेल, सुरक्षा अधिकारी लगायतले बजार क्षेत्रको अनुगमन गरेपछि सेना परिचालनको निर्णय लिएका हुन् । महाकाली नगरपालिकामा कोरोनाको संक्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाध रूपमा खुला हुँदा झन् जोखिम बढ्ने सीडीओ पोखरेलले बताउनुभयो । बुधवार मात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटरमा ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएको छ । स्थानीय क्षेत्रमा सशस्त्रको गस्ती बन्द गरिएको छ । नगरपालिकाको मोहती क्षेत्र, बाङ्गाबगड लगायतका क्षेत्रमा कोरोना दर बढ्दै गइरहेको छ । सुरक्षा मापदण्ड नपनाउँदा नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको जनस्वास्थ्य अधिकृत जयराज भट्ट बताउनुभयो ।
दशैंतिहार नजिकिँदै गरेका कारण बजार क्षेत्रमा भीडभाड यथावत रहेको छ । बैंक, वित्तीय संस्था र कार्यालय खुला रहेका कारण बजारमा भीड बढेको छ । भारतबाट पेन्सन बुझ्ने व्यक्तिका कारण अहिले बजारमा भीड बढेको छ । पेन्सन बुझ्ने व्यक्तिहरूका लागि ३ दिन नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुला गरिएको छ ।
हाल धनगढी, काठमाडौं र भारतका विभिन्न शहरबाट दार्चुला आएका व्यक्ति क्वारेन्टाइनमा नबसी सिधैं गाउँघर पठाइँदा समेत संक्रमणको जोखिम बढेको छ । दार्चुलामा सरकारी मापदण्डको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।