सुविधा नपाएपछि डाक्टरहरू वाक्क ! सामूहिक राजीनामा दिने तयारी

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका बेला चिकित्सकहरूलाई प्रोत्साहन दिनुपर्ने भएपनि सुविधा प्राप्त नभएपछि डाक्टरहरू वाक्कदिक्क भएका छन् ।

वीरगञ्जका विभिन्न निजी अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । निजी अस्पतालमा कार्यरत १५० जना एमबीबीएस डाक्टरले विभिन्न ५ बुँदे माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल चिकित्सक संघ, एशोसियसन अफ प्राइभेट हस्पिटल इन्स्च्यिुसन अफ नेपाल र कार्यरत अस्पतालमा भदौ १ गते ७ दिने अल्टिमेटम दिएका थिए ।

चिकित्सकहरूले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाइनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने र कार्य अवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निःशुल्क उपचार पाउनुपर्ने माग राखेका छन् ।

माग सम्बोधन गर्न दिइएको ७ दिनको अल्टिमेटम बितिसक्दा पनि माग सम्बोधनका लागि सरोकारवाला कुनै पनि निकायले वार्ताका लागि समेत नबोलाएकाले मंगलवार सामूहिक राजीनामा दिने तयारी रहेको मेडिकल अफिसर एसोशियसन अफ वीरगञ्जका उपाध्यक्ष डा. विवेक यादवले बताउनुभयो ।

डाक्टरहरूले आफू कार्यरत अस्पताल प्रशासनलाई राजीनामा पत्र बुझाउने उहाँले जानकारी दिनुभयो । ‘७ दिनको अल्टिमेटम सकिइसक्यो, अहिलेसम्म हामीलाई संवाद र छलफलका लागि पनि बोलाइएको छैन,’ उहाँले भने ।

कोरोनाको महामारी भएकाले राजीनामा दिए पनि अस्पतालमा विना हाजिरी र विना तलबसुविधा काम गर्ने उपाध्यक्ष यादवले बताउनुभयो । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यरत डाक्टरको मागप्रति सरोकारवाला उदासिन बन्दा आफूहरू सामूहिक राजीनामा दिन बाध्य भएको डा. तेजनाथ तिवारीले बताउनुभयो ।

सम्बन्धित
Loading...