काठमाडौं । पछिल्ला केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् ।
सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’
स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले पनि संक्रमण थप जटिल बन्दै गएको बताए । उनले भने, ‘लक्षण सहितका संक्रमितमा सास फेर्न अप्ठ्यारो भएको पनि छ । बिस्तारै यो क्रम बढ्न सक्छ ।’ अधिकांश जिल्लामा सक्रिय संक्रमित हुनेहरूमा दीर्घरोगी रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले लकडाउन खुलेयता लक्षण सहितका संक्रमित देखिन थालेको बताए । उनले भने, ‘सक्रिय संक्रमितमा ज्वरो आउने र खोकी लाग्ने जस्ता लक्षण देखिएको छ । उहाँहरूलाई आइसोलेसनमा राखिएको छ ।’
सक्रिय संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत र सतर्क रहन चिकित्सकले आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ११८ जना सक्रिय संक्रमित रहेका छन् ।
बुधवार नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म १७ हजार ७ सय उपचारपछि निको भएका छन् ।
काठमाडौं उपत्यकामा बुधवार १५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९८७, ललितपुरमा १५० र भक्तपुरमा १७१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १२० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधवार मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं र बर्दियाका १/१ जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका १/१ जना महिला गरी बुधवार ६ जनाको मृत्यु भएको हो ।
हालसम्म देशभर ५ लाख ५४ हजार ३८८ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभर १३ हजार ५७१ जना क्वारेन्टाइनमा बसेका छन् ।
(राजधानी दैनिकमा प्रशान्त वलीले लेख्नुभएको छ ।)