काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमणको उपचार खर्च स्वयं व्यक्तिले तिर्नुपर्ने निर्णय गरेपछि विभिन्न अस्पतालले उपचारका लागि अग्रिम रकम बुझाउनुपर्ने सूचना टाँसिरहेका छन् ।
यस्तै बेला सप्तरी जिल्लामा नेपाली कांग्रेसका कोरोना संक्रमित एक नेताका परिवारले अस्पतालमा लाखौं रकम बुझाउन नसक्दा उपचार नपाएर मृत्यु भएको दाबी गरेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका– ८ का रामभरोसी प्रसाद गुप्ताको गएराति विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । मृतकका छोरा मंगलेश गुप्ताका अनुसार अस्पतालले उपचारका लागि ३ लाख रुपैयाँ धरौटी राख्न परिवारलाई भनेको थियो । तर तत्कालै रकम जम्मा गर्न नसक्दा अस्पतालले उपचारै नगरेर बुवाको मृत्यु भएको उहाँको दाबी छ ।
‘मंगलवारसम्म भएको खर्च बापतको २ लाख ५० हजार तिर्न र थप ३ लाख रुपैयाँ धरौटी राख्न अस्पतालले भन्यो,’ मंगलेशले भन्नुभयो, ‘रकम नदिए उपचार हुँदैन भन्यो । हामीले मागेजति पैसा बुझाउन सकेनौं ।’
गुप्ताका परिवारले अस्पतालमा ४० हजार रुपैयाँ बुझाउनुभएको थियो । ‘एकै पटक त्यत्रो रकम जम्मा गर्न हाम्रा लागि पहाडजस्तै भयो,’ मंगलेशले भन्नुभयो, ‘घरको आर्थिक अवस्था पनि त्यति राम्रो नभएकै कारण विपन्नको सिफारिस गराएर वडा कार्यालयबाट लगेको थिएँ तर त्यसलाई पनि अस्पतालले महत्त्व दिएन ।’
नेपाली कांग्रेसका स्थानीय नेता ६५ वर्षीय गुप्ता ज्वरो आउने र श्वास फेर्न कठिन हुने लक्षण देखिएपछि असोज २५ गते अस्पताल भर्ना हुनुभएको थियो । असोज २६ गते उहाँको स्वाब संकलन गरी परीक्षण गर्दा असोज २७ गते कोरोना पोजेटिभ आएको थियो ।
‘बुवालाई अक्सिजनमा राखिएको थियो र खाना राम्रैसँग खाइरहनुभएको थियो,’ छोरा मंगलेशले भन्नुभयो, ‘मागेको समयमा रकम नदिएकै कारण उपचार नगर्दा बुवाले ज्यान गुमाउनुपर्यो ।’
मंगलवार राति ११ बजेतिर गुप्ताको मृत्यु भएपछि अस्पतालले शुल्क नदिएसम्म शव नदिने अडान राखेको समेत मंगलेशले बताउनुभयो । राति जसोतसो आफ्नो र दाजुको बैंक खातामा रहेको रकम जोडजाड गरेर अस्पताललाई २ लाखको चेक र फार्मेसीलाई पनि चेक दिएपछि शव ल्याउन दिएको उहाँले बताउनुभयो । उहाँले अस्पतालमा रकम दिन नसक्दा उपचार रोकिएर बुवाको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन हुनुपर्ने माग गर्नुभयो ।