देश लुटेराको हातमा पुग्यो : अध्यक्ष ओली

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको लुटेरा प्रवृत्तिले देश भड्खालोतर्फ धकेलिएको बताएका छन् ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई भोजपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले मुलुक लुटेराको हातमा पुगेकाले देश गरीबीतिर धकेलिएको बताए ।

सरकार सत्ताकेन्द्रित भएपछि देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उनले बताए । ‘अहिलेको सरकार मुलुकको समृद्धिभन्दा पनि सत्ता कसरी टिकाउने भन्नेमा केन्द्रित छ,’ उनले भने, ‘देश र जनताको हितविपरीत, न्यायविहीन, अनुत्तरदायी भएकैले देश गरीबीतिर धकेलिँदै गइरहेको छ, यसको निकासका लागि जनताले अब विकल्प खोज्नुपर्छ ।’

वर्तमान अपवित्र गठबन्धन सरकार लामो समय टिक्न नसक्ने बताउँदै उनले मिसन–८४ मुलुकको समृद्धिका लागि एमालेको बहुमतको सरकार हुने बताए । उनले प्राकृतिक, सांस्कृतिक रूपले नेपाल समृद्ध भए पनि देश सञ्चालन गर्ने व्यक्ति सही नपर्दा जनताले दुःख पाएको सुनाए ।

उनले देशलाई ब्युँझाउन, उठाउन र राष्ट्रिय एकता कायम गर्न मध्यपहाडी लोकमार्गको पदयात्रा अभियान ल्याइएको बताए । अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गका जनताको माग, चाहना र आवश्यकतालाई बुझेर देशको समृद्धिको खाका तयार पार्न पनि एमालेको नेतृत्व जनताको घरदैलोमा आइपुगेको बताए ।

केन्द्रिय नेतृत्वसहित मध्यपहाडी लोकमार्गको यात्रामा निस्किएका अध्यक्ष ओलीलाई भोजपुरको पर्यटकीय क्षेत्र चखेवाभञ्ज्याङमा स्थानीय जातीय झाँकीसहित भव्य स्वागत गरिएको थियो ।

भोजपुरमा भव्य स्वागत पाएपछि निकै प्रफुल्लित भएका ओलीले अभियानमा स्थानीयले ल्याएको कोसेली सुन्तला बाँडेर स्वागत गरेका थिए । एमालेको अभियानमा स्थानीयले भोजपुर जिल्लाका उत्पादित फलफूलले स्वागत गरेका थिए । अध्यक्ष ओलीलाई भोजपुरको चखेवा भन्ज्याङ्ग, वोखिम, टेम्केमैयुङ्ग र सदरमुकाममा भव्य स्वागत गरिएको थियो ।

सम्बन्धित
Loading...