नयाँ इन्चार्ज पूर्व सांसद धामीलाई बेदकोटमा स्वागत, पार्टी कार्यालय उद्घाटन

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नयाँ इन्चार्जको रूपमा खटिएका पूर्व सांसद तथा पार्टी केन्द्रीय सदस्य नरबहादुर धामीलाई बेदकोट नगरपालिकामा स्वागत गरिएको छ ।

बेदकोट नगर कमिटीले शनिबार सामादैजी चोकमा पार्टी कार्यालय उद्घाटन कार्यक्रम तथा स्वागत कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि इन्चार्ज धामीले नगर कमिटीको कार्यालयले पार्टीका कामलाई व्यवस्थित र प्रभावकारी बनाउने बताए । पार्टी कार्यालय उद्घाटन गरिएकोमा नगर कमिटीलाई धन्यवाद दिँदै इन्चार्ज धामीले आगामी निर्वाचनमा एमालेलाई कुनै पनि तागतले हराउन नसक्ने गरी सबल र सक्षम बनाउन सबैको अमूल्य सहयोग पाइने विश्वास व्यक्त गरे ।

नेकपा एमाले केन्द्रीय सचिवालयको साउन १७ गतेको बैठकले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्दै धामीलाई २ नम्बर क्षेत्रको इन्चार्ज बनाएको छ । २ नम्बर क्षेत्रमा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका पर्छन् । सोही क्षेत्रबाट धामी यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् ।

नगर कमिटी अध्यक्ष हरि गिरीको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य कृपाराम राना, केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकरदत्त जोशी, प्रदेश कमिटी सदस्य पार्वती जोशी, जिल्ला कमिटी उपसचिव अशोक चन्द, पालिका इन्चार्ज सुशीला सिंह लगायत नेता–कार्यकर्ताको उपस्थिति थियो ।

सम्बन्धित
Loading...