महेश बस्नेतको गृहजिल्लामा ओली–प्रचण्डको वाकयुद्ध : कसको प्रहार खतरनाक ?

काठमाडौं – कुनै बेला चुनावी गठबन्धन हुँदै पार्टी एकीकरण नै गरेका नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला छुट्टाछुट्टै हिँडिरहेका छन् । छुट्टाछुट्टै मात्रै नभई दुबै नेता एकअर्काविरुद्ध नै लागेका छन् ।

पछिल्ला केही दिनयता दुबै नेताका सम्बोधनमा एकअर्काप्रति आक्रोश देखिन्छ । त्यो दृश्य बिहीबार नेकपा एमाले नेता महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा देखिएको छ ।

आज बिहीवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपाललाई कुरुक्षेत्र बनाउने सपना नदेख्न आग्रह गरे । उनले १७ हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको अवगत गराउँदै नेपाललाई धर्मक्षेत्र, शान्तिक्षेत्र, विकास क्षेत्र बनाउने बताए । अध्यक्ष ओलीले कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरूलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताए ।

अध्यक्ष ओलीले भने, ‘एक जनाले अस्ति कुरुक्षेत्र बन्छ अब भने, कुरुक्षेत्र बनाएको पनि देखियो, कुरुक्षेत्र सबै ठेगान पनि लगाइयो, अब कसैले कुरुक्षेत्रका धाक नलगाए हुन्छ, नेपाल नै अब धर्मक्षेत्र हुन्छ, विकास क्षेत्र हुन्छ, यो शान्ति क्षेत्र हुन्छ, यो जनताको समृद्धिको क्षेत्र हुन्छ, समृद्ध नेपाल सुखी नेपाली भएको क्षेत्र हुन्छ नेपाल, केको कुरुक्षेत्र ? कुरुक्षेत्र बनाउने भनेर कतिले धाक लगाएका छन्, के भनेको कसलाई तर्साएको अहिले ? हामीले कुरुक्षेत्र बनाएको हेर्‍यौं, १७ हजार मान्छे मारेको हेर्‍यौं, ढुंगामा राखेर बञ्चरोको पासोले मान्छेको हड्डी फोरेको पनि हेर्‍यौं, काठ घोच्ने बर्माले मान्छेको शरीरमा घोपेको पनि हेर्‍यौं, ती सबै अत्याचार पराजित गरेर हामी आएका छौँ, त्यसैले हामीलाई कुरुक्षेत्रको धाक नलगाए पनि हुन्छ, हामी त्यस्ता कुराको वास्ता पनि गर्दैनौं, हामीलाई देश बनाउने कुरासँग सरोकार छ, उहाँको मनस्थिति एकदमै डगमगाएछ, गणतन्त्रै फाल्छु भन्यो ओलीले भन्नुभएछ, पुष्पकमल दाहालले गणतन्त्र भन्नुभन्दा २५ वर्षअघि हामीले गणतन्त्रको अभियान थालेका थियौं ।’

अध्यक्ष ओलीले आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताए । उनले प्रचण्डलाई कुरुक्षेत्रको धाक नलगाउन पनि आग्रह गरे ।

बिहीबार नै नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल संंवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्ड पनि आक्रामक देखिए । ओलीप्रति लक्षित गर्दै प्रचण्डले माओवादी सिध्याउने खेलमा लागेको आरोप लगाए ।

नेकपा एमालेले पार्टीको १०औं महाधिवेशन गर्न प्रचण्डकै गृहजिल्ला चितवन रोजेको छ । देशी, विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेका प्रचण्डले बताए ।

माओवादीलाई ४ टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड ज्यूँदै रहुञ्जेल माओवादी पार्टी झन् जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाइ छ । प्रचण्डले भने, ‘अहिले पनि प्रतिक्रान्तिकारीहरू षड्यन्त्रमै छन् । प्रतिक्रियावादीहरू षड्यन्त्रमै छन् । देशीविदेशी प्रतिक्रियावादीहरू कुनै न कुनै रूपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरे पनि नहुने, उनीहरूले तारो बनाए, तपाईहरूलाई थाहा छ, उनीहरूको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व । किनकि पार्टी फुटाउँदा पनि केही सीप लागेन । पार्टी ३ टुक्रा, ४ टुक्रा बनाउँदा पनि प्रचण्ड ज्यूँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ, फेरि जागेर आउँदो रहेछ भन्ने अहिले देखियो । त्यसकारण अनेक खालका षड्यन्त्र छन्, टार्गेट चाहिँ बनाउन खोजिएको छ ।’

सम्बन्धित
Loading...