अवैध लागूऔषधसहित ३ जना पक्राउ

धनगढी । कैलाली र बाजुराबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २८ वर्षीय कमल भट्टलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
उनको साथबाट २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थ बरामद भएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बाजुराको बुढीगंगा नगरपालिका–७ वायल बस्ने २१ वर्षीय बाबुराम खड्काको कुखुरा फार्ममा खानतलासी गर्दा लुकाइछिपाई राखेको अवस्थामा ४१० मिलिग्राम लागूऔषध खैरो हिरोइन धुलो पदार्थ, डिजिटल तराजु १ र ४१०  मिलिग्राम लागूऔषध गाँजा फेला पारी खड्का र खप्तड–छेडेदह गाउँपालिका–५ डोगडी बस्ने २६ वर्षीय दिपक रावत समेत दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
Loading...