महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित न्यू शिवशक्ति होटलबाट प्रहरीले अवैध लागूऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ ।
होटलको कोठाबाट १ किलो ५४४ ग्राम लागू औषध चरेशसहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका–६ बस्ने २४ वर्षीय गोविन्दबहादुर धामी र रुकुमको सानोभेरी गाउँपालिका–३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन् ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कोठामा चेकजाँच गर्दा खाटमुनि कालो झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा चरेश फेला पारेको हो ।
चरेश सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।