धनगढी । प्रहरीले अवैध लागूऔषधसहित कैलाली र कञ्चनपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ जोख्खर तालमा धनगढी–१६ बस्ने २६ वर्षीय किरण जोशीले चलाएको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा सवार ३१ वर्षीय अकिंत चौधरी र धनगढी–६ बस्ने २६ वर्षीय रामभजन रानालाई २०० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका ३ जनामध्ये रामभजन राना जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ लाख ४९ हजार ३७५ रुपैयाँ जरिवाना तोकिएर फरार रहेका प्रतिवादी रहेका प्रहरीले जनाएको छ ।
यसैगरी कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ बाबाथानबाट स्थानीय २७ वर्षीय सुरज सुनारलाई शंका लागेर चेकजाँच गर्दा उनको पाइन्टको बायाँ खल्तीमा लुकाइछिपाई राखेको अवस्थामा १५.३ ग्राम लागूऔषध चरेश फेला पारी सोधपुछ गर्दा लागूऔषध दोधाराचाँदनी–२ पुर्णा टोल बस्ने ५० वर्षीय गणेशसिंह साउँदबाट खरिद गरेको भन्ने सूचनाका आधारमा उनको पसलमा खानतलासी गर्दा लुकाइछिपाई राखेको ६० ग्राम लागूऔषध चरेश कालो ठोस पदार्थ फेला पारी दुवै जनालाई नियन्त्रणमा लिइएको छ ।
लागूऔषध बरामद सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।