मोटरसाइकल दुर्घटनामा प्रहरीका असई र हवल्दारको मृत्यु

काठमाडौं । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) र सहायक हवल्दारको मृत्यु भएको छ ।

आईतबार अपराह्न ४ बजे सिन्धुलीको फिकल गाउँपालिका–५ झगडेवेसीस्थित भित्री सडकमा प्रहरी सवार प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रविन्द्रकुमार ठाकुर र सहायक हवल्दार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते भएका दुवैलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कटुवालले बताए । उनका अनुसार अस्पताल पुर्‍याउने बित्तिकै असई ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने सहायक हवल्दारलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर प्रहरी अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुवै जना आईतबार अपराह्न गस्ती गरेर प्रहरी चौकी रत्नावती फर्किंदै गरेका बेला दुर्घटना भएको थियो ।

सम्बन्धित
Loading...