धनगढीमा व्यावसायिक तालिम स्कूल भवनको शिलान्यास

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा भोकेस्नल स्कूल भवनको शिलान्यास गरिएको छ ।

धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालित व्यावसायिक तालिम केन्द्र अर्थात् भोकेस्नल स्कूल भवनको सोमबार शिलान्यास गरिएको छ ।

धनगढी–१८ फूलबारीमा तालिम केन्द्र भवनको शिलान्यास उपमहानगरपालिकाको तर्फबाट प्रा.डा. हेमराज पन्त र युथ फाउन्डेसनको तर्फबाट अध्यक्ष सोम पनेरूले संयुक्त रूपमा गरेका छन् ।

कार्यक्रममा नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरुले धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा काम गर्न पाउँदा एकदमै खुसी लागेको बताए । उनले व्यावसायिक तालिम केन्द्रले युवालक्षित ४ प्रकारका सीप विकास तालिम गर्दै आएको बताए । तालिम केन्द्रबाट ५५० घण्टे वेल्डर र ३९० घण्टे पलम्बर, ईलेक्ट्रिसियन तथा फर्निचर मेकर तालिम प्रदान गरिँदै आएको छ ।

निकट भविष्यमै फूलबारीमै आवासीय भवनबाट युवाहरूले सीपमूलक तालिम लिन पाउने पनेरूले बताए ।

अध्यक्ष पनेरूले यस क्षेत्रको कृषिको सम्भावनालाई लक्षित गरी आधुनिक कृषि प्रणाली सम्बन्धी पनि तालिम तथा उपकरण मर्मतमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

 तालिम केन्द्र शिलान्यास भएसँगै पहिलो चरणमा एक प्रशासनिक भवन, २ वटा तालिम ब्लक, ३ वटा सानो भवनहरू तथा घेरबार सहितको संरचना निर्माण गरिने छ ।

तालिम केन्द्र सञ्चालनमा आएको ५ वर्षपश्चात युथ फाउन्डेसनले सञ्चालन, व्यवस्थापनका साथै संरक्षणको जिम्मेवारी धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

कार्यक्रममा उपस्थित युथ फाउन्डेसनको नेपाली बालबालिका सहयोग कार्यक्रमकी प्रतिनिधि हाजेल ग्रेसले धनगढीमा युवालक्षित कार्यक्रम सञ्चालनमा आएकोमा खुशी व्यक्त गरिन् । उनले युवालक्षित कार्यक्रम सफल पार्न आर्थिक तथा जनशक्तिको सहयोग गर्ने बताएकी छन् ।

नगर प्रमुख (मेयर) गोपाल हमालले फुलबारी क्षेत्रमा सञ्चालनमा रहेको व्यावसायिक तालिम केन्द्रमा सुदूरपश्चिमका सबै जिल्लाका इच्छुक युवाले तालिम लिन सक्ने बताए । मेयर हमालले सीपमूलक तालिमपश्चात् युवाहरूले विभिन्न स्थानमा सहज रोजगारी पाउने अवस्था निर्माण भएर गरीबी घटाउन सकिने विश्वास व्यक्त गरे ।

उनले व्यावसायिक तालिमले रोजगारीका अवसर प्रदान गर्ने र गरीबीको दरलाई घटाउन मद्दत गर्ने बताए । ‘बन्न लागेका भवनहरू नागरिकको सम्पत्ति हो भन्ने ठानेर निर्माणपश्चात संरक्षणमा सबै जनाले ध्यान दिनुपर्छ,’ उनले भने ।

शिलान्यासपश्चात् बोल्दै प्रा.डा. हेमराज पन्तले धनगढी उपमहानगरपालिकाको अहिलेको नेतृत्वले रचनात्मक काम गरिरहेको बताए । उनले उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तालिम केन्द्रबाट सुदूरपश्चिमका युवाहरूले सक्दो बढी लाभ लिनुपर्ने बताए ।

शिलान्यास कार्यक्रममा उपस्थित अतिथिहरूलाई वडाध्यक्ष भुवन रिजालले स्वागत गरेका थिए ।

सम्बन्धित
Loading...