स्वास्थ्यकर्मीबाटै कोरोना फैलिने जोखिम, संक्रमणबाट दिनदिनै मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न २०० भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ ।

कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, ४ दिनअघिसम्म देशभर १८३ जना स्वास्थ्यकर्मी संक्रमित थिए । त्यसयता पनि देशभरका विभिन्न अस्पतालहरूमा थप स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यो संख्या दिनहुँ बढ्दो क्रममा छ ।

हालसम्म प्रदेश १ मा आठ जना स्वास्थ्यकर्मी संक्रमित छन् । त्यस्तै प्रदेश २ मा ७८ जना र बागमती प्रदेशमा १६ जना स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा संक्रमित स्वास्थ्यकर्मीको संख्या २० पुगेको छ भने प्रदेश ५ मा महिला १२ र कर्णाली प्रदेशमा २२ जना स्वास्थ्यकर्मी संक्रमित छन् । सुदूरपश्चिम प्रदेशमा २७ जना छन् ।

नोबल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत २ जना चिकित्सकको शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयले चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मुलुकभरका अस्पतालमा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘फ्रन्ट लाइनमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई अनिवार्यरूपमा पीसीआर परीक्षण गराई कामकाजमा लगाउनुपर्छ ।’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ चिकित्सक र ४ जना नर्स संक्रमित छन् । कपिलवस्तु जिल्ला अस्पतालका डाक्टर, नर्स र प्रयोगशालाकर्मीसहित १६ जना संक्रमित छन् । वीर अस्पतालका ३ जना चिकित्सकमा यसअघि नै कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणसँगै संक्रमितको मृत्यु हुने संख्या पनि दिनहुँ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९५ जनाको संक्रमणबाट ज्यान गएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरका ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिइन् । अछामको रामारोशन गाउँपालिका–५ का १८ वर्षीय पुरुषको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा ज्यान गएको छ । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए ।

मोरङको विराटनगर—३ का ५७ वर्षीय पुरुषको कोसी अस्पतालमा निधन भएको छ । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । महोत्तरीको मटिहानी नगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको उपचारको क्रममा रामजानकी अस्पतालमा मृत्यु भएको हो । उनी क्षयरोग तथा मधुमेहका रोगबाट ग्रसित थिए ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट ९५ जनाको ज्यान गएको छ । कोरोना संक्रमितको मृत्युदर ० दशमलव ४ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा संक्रमितको संख्या १ हजार ५०९ पुगेको छ । स्वास्थ्य सेवा विभागका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १ हजार २७८ जना छन् । ललितपुरमा १९१ र भक्तपुरमा १०९ जना संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढेको बताउँछन् । उपत्यकाका विभिन्न स्थानमा सामुदायिक पसल खडा गरेर मास्क र सेनिटाइजरको वितरण व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘मास्क नलगाउने, स्यानिटाइजर नबोक्ने र भौतिक दूरी कायम नगर्ने प्रवृत्ति छ । सुरक्षा मापदण्डको पालना नगर्दा संक्रमण वृद्धि भइरहेको हो ।’

डा. प्याकुरेल मास्क नलगाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने खाँचो रहेको बताउँछन् । ‘मास्क नलगाएको र सेनिटाइजर नबोकी हिँडेको पाइए जरिवाना गरेर मात्र हुँदैन । जरिवाना तिर्ने र उम्कने गर्छन् । त्यस्तालाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ ।’ मुलुकका विभिन्न क्वारेन्टाइनमा १४ हजार ७६९ जना रहेका छन् ।

(अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले लेख्नुभएको छ ।)

सम्बन्धित
Loading...