कैलाली–कञ्चनपुरबाट भन्सार छलिका साढे ३ लाख मूल्यका अवैध सामान बरामद

धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरबाट अन्दाजी साढे ३ लाख मूल्य बराबरका भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ चौराह र धनगढी–३ राना गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरेर ल्याएका अन्दाजी मूल्य २७ हजार ८८० रुपैयाँ बराबरको चिनी, प्याज, मिठाइ, डाल्डा, चना, बेसन, सरप, सूर्तीजन्य पदार्थ लगायतका सामान बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य २ लाख रुपैयाँ बराबरका लेडिज कुर्ता, स्यानेटरी प्याड, बल्ब, औठी/हार कभर लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।

बेलौरी नगरपालिका–४ क्याम्पस सडकबाट अन्दाजी मूल्य २८ हजार ९२० रुपैयाँ बराबरको मलखाद, डिउ, साइकल लगायतका सामानहरू, पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अन्दाजी मूल्य ९८ हजार ३१० रुपैयाँ बराबरका चिनी, प्याज, नरिवल, धोती, गाडीमा चिप्काउने टेप, प्लाष्टिक फूल, प्लाष्टिक लाइटिङ, प्लाष्टिक झलर लगायतका सामानहरू र पुनर्वास नगरपालिका–१० दोदाबाट अन्दाजी मूल्य ६ हजार रुपैयाँ बराबरको माछा बरामद गरिएको छ ।

कञ्चनपुरका विभिन्न स्थानबाट जम्मा अन्दाजी मूल्य ३ लाख ३३ हजार २३० रुपैयाँ बराबरको सामानहरू प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...