कैलाली–कञ्चनपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरबाट विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ६८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित स्थानीय ३९ वर्षीय सविन दाहाल र धनगढी–१ बस्ने २६ वर्षीय विवेक गुप्तालाई मोटरसाइकलसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरिएको छ ।

यसैगरी, कैलाली जिल्लाको कैलारी गाउँपालिका–३ शिवरत्नपुरस्थित जंगलबाट २ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित कैलारी–३ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरिएको छ ।

यसैगरी, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारस्थित बिगमबरा होटेलबाट ९.१५ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित भारतको बरेली रसोला तालिब हुसेइन मोहल्ला निवासी ३५ वर्षीय रहद अहमदलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय ब्रह्मदेव कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।

यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ रेलडण्डी कलुवापुरबाट २१.६३ ग्राम लागूपदार्थ चरेश र ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित स्थानीय ३० वर्षीय नरेन्द्र चुनारालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवारविचवा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनले आफ्नै घरमा सञ्चालन गरेको मदिरा पसलभित्र खानतलासी गर्दा लुकाइछिपाई राखेको अवस्थामा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।

लागूपदार्थ बरामद सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...