सरकारी आइसोलेसन भद्रगोल भएपछि कोरोना संक्रमित घरमै

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन् ।

संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ ।

उनीसँगै अन्य ८ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन् । ‘उहाँहरू स्वेच्छाले घरमा बस्नुभएको हो,’ हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईंले भने, ‘घरमै रहे पनि उहाँहरू नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।’

हेटौंडा उपमहानर–१० का तीन जना, वडा नम्बर ४ का एक जना र वडा नम्बर ५ का चार जना घरमै छन् । मंगलवार पुष्टि भएका अन्य पाँच जना भने आइसोलेसनमा आएका छन् ।

७० बेड क्षमताको आइसालेसन भनिएकोमा हाल ४४ जना बसेका छन् । ‘साँघुरो भवन, अव्यवस्थित शौचालय, बसाइ र कम्पाउन्ड पनि साँघुरो छ,’ आइसोलेसनमा रहेका हेटौंडा–४ का एक युवाले भने, ‘यहाँ भएकै मान्छेको व्यवस्थापन गर्न सकेको छैन, थप मान्छे ल्याएर जोखिम मात्र बढाउने काम हुन्छ ।’

स्वास्थ्यकर्मीको अभावमा अस्पतालको आकस्मिक कक्षमै अन्य बिरामीसँगै कोरोनाको आशंका गरिएकाको पनि चेकजाँच गर्नुपरेको अस्पताल व्यवस्थापनले जनाएको छ । यसअघि आइतवार हेटौंडामा २३ जनामा कोरोना संक्रमण देखिएपछि समस्या समुदायस्तरमा फैलिएको पुष्टि भएको हो । मकवानपुरमा संक्रमितको संख्या ९७ पुगेको छ । विद्यालयमा आइसोलेसन वार्ड नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिए पनि अन्यत्र व्यवस्थापन हुन सकेको छैन ।

हेटौंडाको गौरीटार रंगशालाको भवनमा आइसोलेसन वार्ड सार्ने भनिए पनि काम भएको छैन । जिल्लाभर २० मध्ये १७ क्वारेन्टाइन सामुदायिक विद्यालयमा राखिएको छ ।

‘अब थपिने संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन कक्षको अभाव छ,’ स्थानीय स्वास्थ्यकर्मी उत्सव चौलागाईंले भने, ‘कमजोर तयारीका कारण समुदायमा तीव्र गतिमा संक्रमण फैलँदै गएको छ ।’ आइसोलेसन वार्डबाट २२६ जनाको स्वाब संकलन गरिएकोमा ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाँकी रहेको वार्ड इन्चार्ज चौलागाईंले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रवीण श्रेष्ठका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति स्वाब परीक्षणको सिफारिस लिन आउँछन् ।

हेटौंडा अस्पतालस्थित फिवर क्लिनिकका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि चार दिनदेखि आठ जना कर्मचारी क्वारेनटाइनमा छन् । उनीहरूसँगै क्लिनिकमा कार्यरत चिकित्सकलाई पनि मंगलवार कोरोना पुष्टि भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।

‘हामीले चौबिसै घण्टा क्लिनिक सञ्चालन गरिरहेका थियौं, स्वास्थ्यकर्मी अभावमा हामीले इमरजेन्सी कक्षबाटै सेवा दिनु परेको छ,’ अस्पतालका मेसु श्रेष्ठले भने, ‘काम गर्न उच्च जोखिम र चुनौती थपिएको छ ।’ अन्य बिरामी र संक्रमणको आशंका गरिएका सेवाग्राहीलाई एउटै कक्षमा परीक्षण गर्दा जोखिम बढेको छ ।

कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि नियन्त्रण लिने संयन्त्रले प्रभावकारी काम गर्न सकेको छैन । कोरोनाका शंकास्पद बिरामीको प्रारम्भिक परीक्षण तथा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी छैन ।

बागमती प्रदेशका अधिकारी, कोरोना नियन्त्रणको लागि काम गर्दै आएको कमान्ड पोस्टसहित स्थानीय तह र स्वास्थ्य संस्थाको बैठक दैनिकजसो हुन्छ । तर प्रभावकारी समन्वय नहुँदा संक्रमण समुदायस्तरमा बढ्दै गएको छ । संक्रमण बढेपछि सोमबार राति १२ बजेदेखि साउन ३२ सम्मका लागि मकवानपुर प्रशासनले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

‘हामीसँग बजेट हुँदैन, स्थानीय निकाय र स्वाथ्य संस्था र स्वास्थ्यकर्मीलाई सहजीकरण मात्र गर्ने हो,’ प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कमान्ड पोस्ट प्रमुख दीपकराज नेपालले भने । आइसोलेसन वार्ड सार्ने र संख्या बढाउन पहल भइरहेको उनले बताए ।

(अन्नपूर्ण पोस्ट दैनिकमा कृष्ण सारु मगरले लेख्नुभएको छ ।)

सम्बन्धित
Loading...