काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।
साउँदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै दैलेखको नारायण नगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी उनको साथबाट नेपाल प्रहरीको पोशाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न १ थान, नेम प्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ समेत बरामद गरेको छ ।
पक्राउ परेकी महिला सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।